सुर्खेत र सल्यानमा एक साताभित्र ३ जनाको ज्यान गयो, नरभक्षी बाघलाई नियन्त्रणमा लिन वा मार्न आदेश
सुर्खेत, १ माघ । सुर्खेत र सल्यानको सीमावर्ती क्षेत्रमा पाटेबाघको आक्रमणबाट एक साताभित्र तीन जनाको ज्यान गएको छ । बाँके र बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्किएको बाघले सर्वसाधारणमाथि शृङ्खलाबद्ध आक्रमण गरेपछि यस क्षेत्रका बासिन्दा त्रासमा छन् ।
एक सातामा तीन जनाको मृत्यु :
१. गङ्गा सारु (५७ वर्ष): गत पुस २३ गते सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ गेरवानीमा बाघको आक्रमणबाट मृत्यु ।
२. धनसरी रावत: गत पुस २६ गते सल्यानको कालीमाटी गाउँपालिका–७ (सुर्खेतसँग सीमा जोडिएको क्षेत्र) मा घाँसदाउरा गर्ने क्रममा मृत्यु ।
३. चन्द्रबहादुर खप्तडी (६५ वर्ष): गत पुस २९ गते कालीमाटी–८ मा घट्टामा पिठो पिस्न गएका बेला बाघको आक्रमणबाट मृत्यु ।
जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी हेमबहादुर केसीका अनुसार यी क्षेत्रहरू राष्ट्रिय निकुञ्जसँग जोडिएकाले जङ्गल र आसपासमा जानेहरू बाघको निसानामा परेका हुन् ।
बाघले मानिस मात्र नभई घरपालुवा पशुहरूमाथि पनि आक्रमण गरिरहेको छ । डिभिजन वन कार्यालयका अनुसार बाघले हालसम्म दुई वटा गाईगोरु समेत मारिसकेको छ । बाघको आतङ्कले स्थानीय बासिन्दा दैनिक कामका लागि समेत घरबाहिर निस्कन नसक्ने अवस्थामा पुगेका छन् । कालीमाटी–७ का वडाध्यक्ष मित्रलाल रिजालले बाघले बस्तीमै आतङ्क सिर्जना गरेको भन्दै तत्काल नियन्त्रणको माग गर्नुभएको छ ।
बाघले मानिसको ज्यान लिन थालेपछि डिभिजन वन कार्यालय सल्यानले उक्त बाघलाई नियन्त्रणमा लिन वा मार्न आदेश जारी गरेको छ । डिभिजन वन अधिकृत टेकबहादुर रावलले पुस ३० गते बाँके राष्ट्रिय निकुञ्जलाई पत्राचार गर्दै तत्काल विशेषज्ञ टोली परिचालन गर्न आग्रह गर्नुभएको छ ।
“राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा १० (क) र (ख) बमोजिम सिफारिस समितिले उक्त पाटेबाघलाई नियन्त्रणमा लिने वा मार्ने आदेश जारी गरेको छ,” अधिकृत रावलले भन्नुभयो ।
अहिले बाँके राष्ट्रिय निकुञ्जबाट विशेषज्ञ टोली आउने तयारी भइरहेको छ । वन कार्यालयले निकुञ्ज आसपासका बासिन्दालाई एक्लै जङ्गल नजान र विशेष सावधानी अपनाउन अपिल गरेको छ ।