इलाममा प्रतिनिधिसभा निर्वाचनका लागि २७ जनाको उम्मेदवारी दर्ता : तीन महिला र एक स्वतन्त्र चुनावी मैदानमा

काठमाडौँ, माघ ७ । आगामी फागुन २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि इलाम जिल्लाका दुई निर्वाचन क्षेत्रमा तीन महिलासहित कुल २७ जनाले उम्मेदवारी दर्ता गराएका छन्। मङ्गलबार सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय र सूर्योदय नगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारहरूले उत्साहपूर्ण रूपमा मनोनयन पत्र दर्ता गराएका हुन्।

निर्वाचन क्षेत्र नं १ को अवस्था:
निर्वाचन अधिकृत खुमप्रसाद भण्डारीका अनुसार क्षेत्र नं १ मा दुई महिलासहित १३ जनाको उम्मेदवारी परेको छ। यस क्षेत्रमा नेकपा (एमाले) बाट काजीमान कागते, नेपाली कांग्रेसबाट निश्कल राई र नेपाल कम्युनिष्ट पार्टीबाट रणबहादुर राईले उम्मेदवारी दर्ता गराउनुभएको छ।

यसैगरी, श्रम संस्कृति पार्टीका विनोद नेम्बाङ लिम्बू, उज्यालो नेपाल पार्टीका हरिबहादुर गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका विमल गदाल, राष्ट्रिय प्रजातन्त्र पार्टीकी ज्वाला नेपाल, नेपाल मजदुर किसान पार्टीकी तुल्सी केशरी प्रजापति, मङ्गोल नेशनल अर्गनाइजेशनका बुद्धलाल मेचे, नेपाल जनमुक्ति पार्टीका डम्बरसिंह लिम्बू, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का नारदमणी साङपाङ, जनता समाजवादी पार्टीका लिलाबहादुर सुनुवार र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका रामप्रसाद लिम्बू चुनावी मैदानमा हुनुहुन्छ। यस क्षेत्रमा राप्रपा र नेमकिपाले महिला उम्मेदवार अघि सारेका छन्।

निर्वाचन क्षेत्र नं २ को अवस्था:
मुख्य निर्वाचन अधिकृत रोशन गजुरेलका अनुसार क्षेत्र नं २ मा एक स्वतन्त्रसहित १४ जनाको उम्मेदवारी दर्ता भएको छ। यहाँ नेकपा (एमाले) बाट सुहाङ नेम्बाङ, नेपाली कांग्रेसबाट भेषराज आचार्य र नेपाल कम्युनिष्ट पार्टीबाट ओमबहादुर गुरुङ मुख्य प्रतिस्पर्धीका रूपमा रहेका छन्।

अन्य उम्मेदवारहरूमा श्रम संस्कृति पार्टीका सुदिप राई, राष्ट्रिय परिवर्तन पार्टीका दिवस राई, राष्ट्रिय स्वतन्त्र पार्टीका गोकुलबहादुर राई, राप्रपाका गणेशप्रसाद दुलाल, मङ्गोल नेशनल अर्गनाइजेशनका श्याबहादुर लिम्बू, नेपाल जनमुक्ति पार्टीका यामबहादुर लिम्बू, राष्ट्रिय जनमुक्ति पार्टीकी पवित्रा लिम्बू तुम्बाहाम्फे, नेकपा (माओवादी) का होमप्रसाद खतिवडा, जसपाका बलबहादुर आङदेम्बे र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सादरसिंह मादेन (लिम्बू) रहनुभएको छ। डाक्प्रसाद गौतमले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ। यस क्षेत्रमा राष्ट्रिय जनमुक्ति पार्टीले मात्र महिला उम्मेदवार उठाएको छ।

उम्मेदवारको उमेर र मतदाता विवरण:
इलाममा यसपटक ३२ वर्षीय गोकुलबहादुर राई (रास्वपा) सबैभन्दा कान्छो उम्मेदवार हुनुहुन्छ भने ६८ वर्षीय होमप्रसाद खतिवडा (नेकपा माओवादी) सबैभन्दा जेठो उम्मेदवार हुनुहुन्छ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार इलाममा कुल मतदाता संख्या २ लाख ३१ हजार ८ सय ९ पुगेको छ, जसमा १ लाख १९ हजार ६ सय ४८ पुरुष, १ लाख १२ हजार १ सय ५८ महिला र ३ जना तेस्रोलिङ्गी रहेका छन्। वि.सं. २०७९ को निर्वाचनको तुलनामा यसपटक ६ हजार ९ सय ३२ मतदाता थपिएका छन्। क्षेत्र नं १ मा १ लाख १२ हजार ३ सय २० र क्षेत्र नं २ मा १ लाख १९ हजार ४ सय ८९ मतदाता रहेको सूचना अधिकारी कृष्णबहादुर लिम्बूले जानकारी दिनुभयो। निर्वाचन सम्पन्न गर्न जिल्लाभर १९० मतदान स्थल र २५० मतदान केन्द्र तोकिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *