राष्ट्रिय सभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौँ, ९ माघ । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ। संसद् सचिवालयका अनुसार बैठक दिउँसो १:१५ बजेका लागि आह्वान गरिएको छ।
आजको बैठकमा राष्ट्रिय सभाका अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन तथा कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा सदनलाई जानकारी गराउनुहुने कार्यसूची रहेको छ। त्यस्तै, राष्ट्रिय सभा सदस्यको स्थान रिक्तता सम्बन्धी सूचना समेत पढेर सुनाइनेछ।
बैठकमा विभिन्न समितिका सभापतिहरूले प्रतिवेदन पेस गर्ने कार्यक्रम छ। विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले ‘राष्ट्रिय सदाचार नीतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ सभासमक्ष पेस गर्नुहुनेछ। यसैगरी, विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘पर्यटन विधेयक, २०८१’ सम्बन्धी समितिको प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
आजको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले तीनवटा महत्त्वपूर्ण अध्यादेशहरू पेस गर्नुहुनेछ। जसमा ‘मतदाता नामावली (संशोधन) अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२’ रहेका छन्।
बैठकको अन्त्यमा पूर्वमन्त्री एवं विभिन्न समयमा संसद्मा प्रतिनिधित्व गरेका व्यक्तित्वहरूको निधनमा शोक प्रस्ताव प्रस्तुत गरिनेछ।