सानोठिमी बाल सुधार गृहमा मध्यरातमा झडप र आगजनी: १३ घाइते, १६२ जनाको व्यवस्थापन

काठमाडौँ, ९ माघ । भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहमा बिहीबार राति दुई पक्षबीच भीषण झडप भएको छ। झडप र त्यसपछिको आगजनीका कारण सुधार गृहको भवनमा क्षति पुगेपछि त्यहाँ रहेका १६२ जनालाई अन्यत्र स्थानान्तरण गरिएको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार सुधार गृहमा रहेका दुई समूहबीच आपसी विवादका कारण झडप भएको हो। झडपमा परी १३ जना घाइते भएका छन्, जसमध्ये दुई जनाको अवस्था गम्भीर रहेकाले अस्पतालमा उपचार भइरहेको छ। अन्य सामान्य घाइतेको प्राथमिक उपचार गरिएको छ।

एक पक्षले अर्को पक्षलाई हेप्ने र कुटपिट गर्ने विषयबाट सुरु भएको विवादले उग्र रूप लिँदा सुधार गृहभित्र आगजनी समेत गरिएको थियो। मध्यराति घटनाको सूचना पाएलगत्तै पुगेको प्रहरी टोलीलाई सुधार गृहभित्र रहेकाहरूले अवरोध पुर्‍याएका थिए।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवं डीएसपी प्रकाश जगेबुले दिएको जानकारीअनुसार, भित्र रहेका समूहले प्रहरीमाथि ढुंगामुढा गरेपछि स्थिति नियन्त्रणमा लिन र घाइतेको उद्धार गर्न कठिनाइ भएको थियो। “घाइतेको उद्धारका लागि भित्र छिर्न खोज्दा प्रहरीमाथि नै आक्रमण भयो र सोही क्रममा उनीहरूले सुधार गृहको भवनमा आगो लगाए,” परिसरका एक अधिकृतले बताए।

आगजनीबाट भवन बस्न नमिल्ने गरी क्षतिग्रस्त भएपछि सुधार गृहमा रहेका १६४ जनामध्ये झडपमा संलग्न र प्रभावित १६२ जनालाई तत्कालै सुरक्षित स्थानमा सारिएको छ। उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौँ र भक्तपुरको बाल सुधार निगरानी कक्षहरूमा राखिएको डीएसपी जगेबुले जानकारी दिए।

सुधार गृहमा लामो समयदेखि क्षमताभन्दा बढी व्यक्तिको चाप र आन्तरिक व्यवस्थापनमा समस्या देखिएका कारण पटक–पटक यस्ता झडपहरू हुँदै आएका छन्।