सुरक्षा निकायको धर्म मुलुक र जनताको सर्वोत्तम हित गर्नु हो : राष्ट्रपति पौडेल
काठमाडौँ, ९ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको मुख्य धर्म शान्ति सुरक्षा कायम गरी मुलुक र जनताको सर्वोत्तम हितका लागि समर्पित हुनु रहेको बताउनुभएको छ । सशस्त्र प्रहरी बल नेपालको २५औँ स्थापना दिवसका अवसरमा हलचोकस्थित केन्द्रीय कार्यालयमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो ।
राष्ट्रपति पौडेलले सशस्त्र प्रहरीले उच्च व्यावसायिक सीप, क्षमता र कौशलको माध्यमबाट राष्ट्रहितलाई सर्वोपरि राखेर जनताको स्वतन्त्रता, स्वाभिमान र सम्पत्तिको सुरक्षा गर्दै आएको भन्दै प्रशंसा गर्नुभयो । “जब राष्ट्रमा सङ्कट पर्छ, विपद् आइलाग्छ, सीमामा चुनौती थपिन्छ र जब राज्यको अर्थतन्त्र कमजोर हुन थाल्छ, सबैभन्दा अगाडि उभिने तपाईँहरू नै हो,” उहाँले भन्नुभयो ।
आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भ जोड्दै राष्ट्रपति पौडेलले यसलाई संविधानको सुदृढीकरण र सुशासनको आधारका रूपमा व्याख्या गर्नुभयो । उहाँले निर्वाचनमा देखिएको राजनीतिक दल र जनताको उल्लासमय सहभागितालाई सार्थक बनाउन सुरक्षा निकायको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्नुभयो ।
“आगामी निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्ने कार्यमा सघाउन सुरक्षा निकायले कुनै कसर बाँकी राख्ने छैन भन्ने मैले पूर्ण विश्वास लिएको छु,” राष्ट्रपति पौडेलले भन्नुभयो । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र मुलुकको स्थायित्वका लागि निर्वाचन अपरिहार्य रहेको भन्दै यसमा सुरक्षाकर्मीहरूको व्यावसायिकता अझ प्रखर रूपमा देखिने अपेक्षा गर्नुभयो ।
समारोहमा सशस्त्र प्रहरी बलका उच्च अधिकारीहरू, सरकारका प्रतिनिधि र अन्य सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो । राष्ट्रपति पौडेलले सशस्त्र प्रहरी बल नेपाल सधैँ दृढताका साथ कर्तव्यपथमा अग्रसर रहिरहने विश्वास समेत व्यक्त गर्नुभयो ।