निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न सबै स्थानीय तह र जिससलाई मन्त्रालयको पत्राचार
काठमाडौँ, १२ माघ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मुलुकभरका सात सय ५३ वटै स्थानीय तह र ७७ वटै जिल्ला समन्वय समितिलाई ‘निर्वाचन आचारसंहिता, २०८२’ लागू गर्न र गराउन परिपत्र गरेको छ ।
मन्त्रालयका शाखा अधिकृत दीपेश कट्टेलद्वारा जारी पत्रमा निर्वाचन आयोगले गत माघ ४ गते राति १२ बजेदेखि लागू गरेको आचारसंहितालाई आ–आफ्नो कार्यक्षेत्रभित्र प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरिएको छ । मन्त्रालयले आवश्यक जानकारी तथा कार्यार्थ भन्दै सबै स्थानीय तह र जिससको ध्यानाकर्षण गराएको हो ।
यही माघ ११ गते सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचन र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन आयोगले अर्को सूचना जारी नभएसम्मका लागि आचारसंहिता लागू गरेको छ । यसअघि नेपाल सरकारले २०८२ साल पुस १२ गतेको नेपाल राजपत्रमा सूचना प्रकाशित गरी उक्त आचारसंहिता सार्वजनिक गरिसकेको छ ।
कार्यान्वयनका लागि पत्राचार गरिएको उक्त निर्वाचन आचारसंहितामा १० परिच्छेद, ५५ दफा र ५ अनुसूची समावेश रहेका छन् ।