खराब मौसमले त्रिभुवन विमानस्थलको उडान प्रभावित : एयर इन्डियाको जहाज दिल्ली फर्कियो, निगमको आकाशमै होल्ड

काठमाडौँ, १४ माघ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा मौसम खराब हुँदा आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ। ‘भिजिबिलिटी’ कम हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेपछि केही अन्तर्राष्ट्रिय उडानहरू ‘डाइभर्ट’ भएका छन् भने केही आकाशमै फन्को (होल्ड) मार्न बाध्य भएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार काठमाडौँको भिजिबिलिटी १६ सय मिटरमा झरेको छ। ठूला विमान अवतरणका लागि सामान्यतया २२ सय मिटर वा सोभन्दा बढी भिजिबिलिटी आवश्यक पर्छ।
यही कारण नयाँ दिल्लीबाट काठमाडौँ आएको एयर इन्डियाको विमान अवतरण गर्न नसकेपछि पुनः दिल्ली नै फर्किएको छ।

त्यस्तै, कतारको दोहाबाट आएको नेपाल वायुसेवा निगमको वाइडबडी विमान लामो समयदेखि सिमराको आकाशमा होल्डमा रहेको छ। अन्य अन्तर्राष्ट्रिय उडानहरू पनि मौसम खुल्ने पर्खाइमा छन्।

अन्तर्राष्ट्रियतर्फ मात्र नभई आन्तरिक उडानमा पनि मौसमको प्रतिकूल असर परेको छ। बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णका अनुसार मौसम नखुलेका कारण तुम्लिङटार, भरतपुर, सुर्खेत र राजविराज विमानस्थलको उडान सञ्चालन हुन सकेको छैन।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *