चितवनमा क्षयरोगको जोखिम : चालु आर्थिक वर्षमै ४८० जना सङ्क्रमित
चितवन, १४ माघ । चितवन जिल्लामा चालु आर्थिक वर्षको हालसम्म साढे चार सयभन्दा बढी व्यक्तिमा क्षयरोगको सङ्क्रमण पुष्टि भएको छ । जनस्वास्थ्य कार्यालय चितवनका अनुसार साउनयता गरिएको २ हजार ६ सय ५६ जनाको परीक्षणमा ४८० जनामा सङ्क्रमण देखिएको हो ।
कार्यालयका क्षयकुष्ठ अधिकृत जयराम दुवाडीले सङ्क्रमितमध्ये ८१ जनाले ६ महिनाको औषधि पूरा गरिसकेको र ३९९ जनाले अहिले नियमित औषधि सेवन गरिरहेको जानकारी दिनुभयो । सङ्क्रमितहरूले जिल्लाका १०७ वटा स्वास्थ्य संस्थाबाट निःशुल्क औषधि लिइरहेका छन् ।
जिल्लामा गत वर्ष १ हजार ८९ जनामा क्षयरोग देखिएको थियो । जसमा पुरुषको सङ्ख्या बढी थियो ।
अधिकृत दुवाडीका अनुसार दुई हप्तासम्म लगातार खोकी लाग्नु, साँझपख ज्वरो आउनु र काम गर्दा थकान महसुस हुनु क्षयरोगका मुख्य लक्षण हुन् । उहाँले भन्नुभयो, “सामान्य रुघाखोकी ५ दिनमा ठीक हुन्छ, तर दुई हप्तासम्म पनि खोकी निको नभए तुरुन्त परीक्षण गर्नुपर्छ ।”
रोग लागेको अवस्थामा सुर्तीजन्य पदार्थ र मदिरा सेवन नगर्न तथा ६ देखि ८ महिनासम्म नियमित औषधि सेवन गर्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन् । चितवनमा क्षयरोग निदानका लागि २८ वटा माइक्रोस्कोप र ४ वटा जिनएक्स्पर्ट गरी ३२ वटा सेन्टर सञ्चालनमा छन् ।