आचारसंहिता उल्लंघनमा आयोगको कडा निगरानी, २१ उम्मेदवार र दललाई स्पष्टीकरण

काठमाडौँ, १७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा निर्वाचन आयोगले आचारसंहिता कार्यान्वयनमा कडाइ गरेको छ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन आयोगले आचारसंहिता उल्लंघन गर्ने राजनीतिक दल, उम्मेदवार र विभिन्न संस्थाहरूमाथि कारबाही प्रक्रिया अघि बढाएको हो।

केन्द्रीय आचारसंहिता अनुगमन समितिमा प्राप्त उजुरीका आधारमा आयोगले हालसम्म २१ वटा स्पष्टीकरण सोधिसकेको छ। जसमध्ये हालसम्म ५ वटाको मात्र जवाफ प्राप्त भएको र बाँकी १६ वटाको जवाफका लागि ताकेता भइरहेको आयोगले जनाएको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचनको वातावरण बिगार्ने गरी सामाजिक सञ्जालमा फैलाइने मिथ्या सूचना र घृणास्पद अभिव्यक्ति माथि कडा निगरानी राखिएको छ।

आयोगको ‘सूचना सदाचार प्रवर्द्धन इकाइ’ ले हालसम्म ३०२ वटा हानिकारक सूचनाहरू पहिचान गरेको छ। ती सूचनाहरूलाई विद्युतीय कारोबार ऐन र प्रेस काउन्सिल ऐन बमोजिम कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको छ।

आयोगले निर्वाचनको मर्यादा विपरीत कुनै गतिविधि भएमा उजुरी दिन सबैमा अपिल गरेको छ। उजुरीका लागि निम्न स्थान र माध्यमहरू तोकिएका छन्:
निर्वाचन आयोगको केन्द्रीय कार्यालय ।
मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय ।
प्रदेश तथा जिल्ला निर्वाचन कार्यालय ।
जिल्ला आचारसंहिता अनुगमन अधिकृत ।
उजुरी लिखित, मौखिक वा विद्युतीय माध्यम (इमेल/वेबसाइट) बाट दिन सकिने व्यवस्था मिलाइएको छ।

निर्वाचन आउन अब ३३ दिन मात्र बाँकी रहँदा आयोगले आचारसंहिता उल्लंघन गर्नेलाई निर्वाचन कानुन बमोजिम उम्मेदवारी खारेजीसम्मको कारबाही हुन सक्ने चेतावनी दिएको छ। निर्वाचनलाई मितव्ययी र मर्यादित बनाउन आयोगले सबै सरोकारवाला पक्षलाई जिम्मेवार बन्न पुनः ध्यानाकर्षण गराएको छ।