१५ जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो, समानुपातिकतर्फ २ करोड बढी छापिए

काठमाडौँ, १८ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइको कामले तीव्रता पाएको छ । निर्वाचन आयोगका अनुसार पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ हालसम्म १५ वटा जिल्लाका १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको छ ।

भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा भइरहेको छपाइ कार्य अन्तर्गत दुर्गम तथा हिमाली जिल्लाहरूलाई प्राथमिकतामा राखिएको छ ।

आयोगका अनुसार प्रत्यक्षतर्फ मतपत्र छापिएका जिल्लाहरू यसप्रकार छन्:
कर्णाली प्रदेश: डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, सल्यान, जाजरकोट, रुकुम पश्चिम र सुर्खेतका दुवै निर्वाचन क्षेत्र (१ र २) तथा दैलेखका दुवै निर्वाचन क्षेत्र (१ र २) ।

सुदूरपश्चिम प्रदेश: बाजुरा, अछामका दुवै क्षेत्र (१ र २) र कैलाली निर्वाचन क्षेत्र नं. १ ।
कोशी प्रदेश: झापा निर्वाचन क्षेत्र नं. ५ र सुनसरी निर्वाचन क्षेत्र नं. १ ।

आयोगले मतदाता शिक्षाका लागि आवश्यक पर्ने १० लाख ९८ हजार २०० थान ‘नमूना मतपत्र’ छपाइ गरी सम्बन्धित निर्वाचन क्षेत्रहरूमा पठाइसकेको जनाएको छ ।

यस्तै, समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ भने पूर्ण रूपमा सम्पन्न भइसकेको छ । समानुपातिकतर्फ कुल २ करोड ८ लाख ३० हजार थान मतपत्र छापिएको आयोगले जानकारी दिएको छ ।

निर्वाचन आयोगले बाँकी जिल्ला र निर्वाचन क्षेत्रका मतपत्रहरू पनि धमाधम छापिरहेको र फागुनको पहिलो साताभित्र सबै जिल्लामा मतपत्र पुर्‍याउने लक्ष्य राखेको छ ।