पश्चिमी वायुको प्रभावले उच्च पहाडी भेगमा हिमपात र वर्षाको सम्भावना, तराईमा कुहिरोको सास्ती
काठमाडौँ, १८ माघ । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले देशभरको मौसममा सामान्य फेरबदल देखिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका केही उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको छ ।
आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बादल लाग्नेछ । कोशी प्रदेश लगायत अन्य हिमाली भागमा पनि आंशिक बदली रहने महाशाखाले जनाएको छ । विशेष गरी कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भागका एक-दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ । तराईका केही स्थानमा भने दिउँसो पनि कुहिरो लाग्नेछ ।
आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भागमा बादल लाग्नेछ । यी प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपात र वर्षा हुने पूर्वानुमान गरिएको छ । देशका बाँकी भागमा भने मौसम मुख्यतया सफा रहनेछ ।
तराईका भू-भागमा लागेको बाक्लो कुहिरो र हुस्सुका कारण बिहानीपखको जनजीवन प्रभावित भएको छ । महाशाखाले कुहिरोका कारण दृश्यता कम हुँदा हवाई तथा सडक यातायातमा आंशिक प्रभाव पर्न सक्ने चेतावनी दिएको छ ।
साथै, चिसोका कारण स्वास्थ्यमा पर्न सक्ने असर र पर्यटन क्षेत्रमा हुने अवरोधलाई मध्यनजर गर्दै आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले सर्वसाधारणमा अपिल गरेका छन् ।