मतदाताको गोपनीयता भंग हुने गरी सामाजिक सञ्जालमा भइरहेकाे उल्लंघन बारे झापा प्रशासनको ध्यानाकर्षण, कारबाहीसमेत हुनसक्ने

झापा, १९ माघ । जिल्ला प्रशासन कार्यालय झापाले मतदाताको गोपनीयता भंग हुने गरी सामाजिक सञ्जालमा गरिने गतिविधिमाथि कडा निगरानी र रोक लगाएको छ।

विभिन्न अनलाइन सञ्चारमाध्यम र सामाजिक सञ्जालका पेजहरूले “तपाईँ कुन दल वा उम्मेदवारलाई भोट दिनुहुन्छ?” भन्दै सर्वसाधारणलाई प्रश्न सोध्ने गरेको पाइएपछि प्रशासनले यस्तो कार्य नगर्न सचेत गराएको हो।

प्रशासनले जारी गरेको सूचनाअनुसार फेसबुक, युट्युब लगायतका प्लेटफर्म प्रयोग गरी मतदाताको व्यक्तिगत चाहना र गोपनीयता सार्वजनिक गर्नु निर्वाचन आचारसंहिताको गम्भीर उल्लंघन हो। केही अनलाइन माध्यमले ‘स्ट्रीट पोल’ वा अनलाइन सर्वेक्षणका नाममा मतदाताको विचार संकलन गरी सार्वजनिक गर्ने गरेको भन्दै प्रशासनले त्यस्ता गतिविधि तत्काल बन्द गर्न निर्देशन दिएको छ।

निर्वाचन आचारसंहिता अनुगमन अधिकृत एवं सहायक प्रमुख जिल्ला अधिकारीद्वय अञ्जन न्यौपाने र तेजप्रकाश प्रसाईँद्वारा संयुक्त रूपमा हस्ताक्षरित सूचनामा भनिएको छ, “सर्वसाधारण तथा मतदाताको गोपनीयता भंग गर्ने कार्य निर्वाचन आचारसंहिताविपरीत भएकाले उप्रान्त कोही कसैबाट यस प्रकारको कार्य भए गरेमा प्रचलित कानुनबमोजिम कडा कारबाहीको प्रक्रिया अघि बढाइनेछ।”

निर्वाचनका समयमा मतदाताले कसलाई भोट दिने भन्ने कुरा नितान्त व्यक्तिगत र गोप्य रहने संवैधानिक व्यवस्था छ। यस्ता सार्वजनिक सोधपुछले मतदातालाई प्रभावित पार्न सक्ने, समाजमा ध्रुवीकरण बढाउने र सुरक्षा संवेदनशीलता समेत निम्त्याउन सक्ने भन्दै प्रशासनले कडाइ गरेको छ।