स्वास्थ्य बीमा रकम बहिरंगमा कटौती, १ लाखको सीमा भने यथावत्
काठमाडौं, १९ माघ । स्वास्थ्य बीमा बोर्डले बीमा सुविधाबाट बहिरंगमा खर्च कटौती गर्ने हिसावले रकम घटाएकाे छ भने १ लाखको सीमा भने यथावत् राखेकाे छ ।
बोर्डले सूचना जारी गर्दै ५ जनासम्मको बीमित परिवारले वार्षिक रुपमा पाउने १ लाख रुपैयाँ बराबरको कुल सेवा सीमा यथावत् रहेको स्पष्ट पारेको हो । बोर्डले बीमा कोषको दिगोपन र सेवाको न्यायोचित व्यवस्थापनका लागि केही प्राविधिक परिमार्जन मात्र गरिएको बताएको छ ।
‘नयाँ व्यवस्थाअनुसार बहिरंग (ओपीडी) सेवाको प्रयोगलाई मितव्ययी र व्यवस्थित बनाउन ५ जनासम्मको परिवारका लागि वार्षिक २५ हजार रुपैयाँ तोकेको हो । प्रत्येक थप सदस्यका लागि ५ हजार रुपैयाँको सीमा तोकिएको छ । परिवारले पाउने बाँकी रकम भने ओपीडी र आकस्मिक स्वास्थ्य सेवामार्फत पहिलेको जस्तै उपयोग गर्न सकिने छ । यो निर्णय विशेषगरी अनावश्यक र दोहोरो सेवा प्रयोग रोक्न तथा गम्भीर एवं जटिल प्रकृतिका रोगको उपचारका लागि स्रोत सुरक्षित राख्ने उद्देश्यले गरिएको बोर्डले विज्ञप्ति मार्फत जनाएकाे छ ।
यससँगै बीमितले आकस्मिक र अस्पताल भर्ना भई लिने सेवामा कुनै असर पर्ने छैन ।