सातै प्रदेशका डीआईजी र उपत्यका प्रहरी प्रमुखलाई हेडक्वार्टरमा बोलाइयो
काठमाडौं, १२ कात्तिक । प्रहरी महानिरीक्षक (आईजीपी) सहित केही उच्च अधिकारीलाई पदमुक्त गर्ने चर्चा चुलिएपछि नेपाल प्रहरी प्रधान कार्यालयले सातै प्रदेशका प्रहरी प्रमुख र काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुखलाई नक्सालस्थित हेडक्वार्टरमा बोलाएको छ ।
प्रहरी स्रोतका अनुसार संगठनको चेन अफ कमान्ड र शान्तिसुरक्षा व्यवस्थापनमा असर पर्ने गरी सार्वजनिक रूपमा विभिन्न विषय उठ्न थालेपछि त्यसको प्रभावबारे छलफल गर्न प्रहरी प्रमुखहरूलाई बोलाइएको हो । उनीहरूलाई बिहीबार दिउँसो १२ बजेभित्र उपस्थित हुन भनिएको छ ।
प्रदेशका प्रहरी प्रमुखहरूलाई बोलाइएकै बेला प्रहरी महानिरीक्षकको अध्यक्षतामा प्रधान कार्यालयमा पोलिसी कोअर्डिनेसन कमिटी (पीसीसी) को बैठक जारी रहेको स्रोतले जनाएको छ । बैठकमा हेडक्वार्टर तथा काठमाडौं उपत्यकामा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) तहसम्मका अधिकारी सहभागी छन् ।
संगठनभित्रको समन्वय र प्रहरीप्रतिको जनविश्वास कायम राख्ने विषयमा प्रहरी नेतृत्वले सक्रियता बढाएको स्रोतको भनाइ छ ।
कोशी प्रदेशका डीआईजी शेखर खनाल र मधेश प्रदेशका डीआईजी ओमप्रसाद अधिकारी यसअघि नै काठमाडौंमा छन् । बागमतीका दीपक रेग्मी, लुम्बिनीका भूपेन्द्रबहादुर खत्री, कर्णालीका जयराज सापकोटा र सुदूरपश्चिमका सानुराम भट्टराई भने हवाई मार्ग हुँदै काठमाडौं आउँदै गरेको जनाइएको छ ।
