सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी, दुई जना पक्राउ
काठमाडौं, १२ कात्तिक । कृषि फार्म सञ्चालनका लागि सरकारी सहुलियत अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले काठमाडौं महानगरपालिका–१४ ताहाचलका ५२ वर्षीय श्रीकृष्ण महर्जन र ललितपुर महानगरपालिका–१४ नखिपोटका ६० वर्षीय नारायण खनाललाई पक्राउ गरेको हो ।
जालिम सिंह महतोको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ ।
सीआईबीका प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काका अनुसार पक्राउ परेका दुवैले विभिन्न मन्त्रालयका कर्मचारीसँग राम्रो चिनजान रहेको भन्दै कृषि फार्म सञ्चालनका लागि सहुलियत अनुदान मिलाइदिने आश्वासन दिएका थिए । सोही बहानामा उनीहरूले पटक–पटक गरी पाँच करोड ८० लाख रुपैयाँ ठगी गरेको आरोप छ ।
