नेपालमा हरेक वर्ष ५० हजारभन्दा बढीलाई मस्तिष्कघात
काठमाडौं, १२ कात्तिक । नेपालमा प्रत्येक वर्ष ५० हजारभन्दा बढी मानिस मस्तिष्कघातबाट प्रभावित हुने गरेका छन् । नेपाल पक्षघात सङ्घका निवर्तमान अध्यक्ष राजु पौडेलले विश्व मस्तिष्कघात दिवसका अवसरमा उक्त जानकारी दिनुभएको हो ।
‘हरेक मिनेट महत्वपूर्ण हुन्छ’ भन्ने नाराका साथ आज नेपालमा पनि विश्व मस्तिष्कघात दिवस मनाइँदैछ । पौडेलका अनुसार नेपालमा प्रत्येक १० मिनेटमा एक जनालाई मस्तिष्कघात हुने गरेको छ ।
मस्तिष्कको कुनै भागमा रक्तसञ्चार अवरुद्ध हुँदा अक्सिजन र पोषक तत्त्वको अभाव भई मस्तिष्कका कोषिकामा क्षति पुग्ने अवस्थालाई मस्तिष्कघात भनिन्छ । रक्तनलीमा अवरोध वा अन्य कारणले मस्तिष्कमा रक्तसञ्चार प्रभावित हुँदा यस्तो समस्या देखिने पौडेलले बताउनुभयो ।
मस्तिष्कघातबाट विश्वभर एक करोड २० लाख प्रभावित
विश्वभर प्रत्येक वर्ष करिब एक करोड २० लाख मानिस मस्तिष्कघातबाट प्रभावित हुने गरेको पौडेलले बताउनुभयो । उहाँका अनुसार विश्वमा प्रत्येक चार जनामध्ये एक जनालाई जीवनकालमा मस्तिष्कघात हुने जोखिम छ भने प्रत्येक तीन सेकेन्डमा एक जनामा यो समस्या देखिने गरेको छ ।
नेपालमा मस्तिष्कघात भएका बिरामीमध्ये १५ देखि २० प्रतिशतको मृत्यु हुने गरेको बताइन्छ । पौडेलले मस्तिष्कघातबाट प्रभावितमध्ये ठूलो सङ्ख्याले ज्यान गुमाउनुपर्ने अवस्था रहेकाले यसको रोकथाम र उपचारमा सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
नेपालमा मस्तिष्कघातको अवस्था अध्ययन गर्न तथा उपचारसम्बन्धी पहल अघि बढाउन सन् २०१७ मा नेपाल पक्षघात सङ्घ स्थापना गरिएको हो । सङ्घले जर्मनीको हाइडलबर्गस्थित युनिभर्सिटी हस्पिटलसँग सहकार्य गर्दै आएको छ । त्यसैगरी जिआइजेड र विश्व स्वास्थ्य सङ्गठनलगायत संस्थासँग मिलेर पनि काम भइरहेको पौडेलले जानकारी दिनुभयो ।
उच्च रक्तचाप र मधुमेह प्रमुख जोखिम
उच्च रक्तचाप, मधुमेह, मोटोपन, धूमपान, निष्क्रिय जीवनशैली, असन्तुलित खानपान र मुटुको चालमा गडबडी हुँदा मस्तिष्कघातको जोखिम बढ्ने पौडेलले बताउनुभयो । त्यसैले स्वस्थ जीवनशैली अपनाउनुका साथै जोखिमका कारणप्रति सचेत रहन उहाँले आग्रह गर्नुभयो ।
सन्तुलन गुम्नु, अनुहार बाङ्गिनु, आँखाको ज्योति अचानक हराउनु, बोली लरबराउनु तथा हातखुट्टा लुलो हुनु मस्तिष्कघातका प्रमुख लक्षण हुन् । यस्ता लक्षण देखिएमा तत्काल अस्पताल पुगेर उपचार गराउनुपर्ने पौडेलको भनाइ छ ।
मस्तिष्कघातको उपचारमा समय महत्वपूर्ण हुने भएकाले लक्षण देखिएपछि सकेसम्म चाँडो अस्पताल पुग्नुपर्ने उहाँले बताउनुभयो । मस्तिष्कघातको प्रकार र अवस्थाअनुसार औषधि तथा अन्य उपचार विधि अपनाइने र बिरामीको स्वास्थ्य अवस्था हेरेर फिजियोथेरापीसमेत आवश्यक पर्न सक्ने उहाँले जानकारी दिनुभयो ।
