स्वास्थ्य उपकरण खरिदका लागि कीर्तिपुर अस्पताललाई काठमाडौँ महानगरको १ करोड सहयोग
काठमाडौँ, माघ २५ । काठमाडौँ महानगरपालिकाले कीर्तिपुर अस्पतालको स्वास्थ्य सेवालाई थप सुदृढ र गुणस्तरीय बनाउन आवश्यक मेडिकल उपकरण खरिदका लागि आर्थिक अनुदान उपलब्ध गराउने भएको छ । महानगरपालिकाको चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअन्तर्गत अस्पताललाई १ करोड रुपैयाँ अनुदान दिने सम्बन्धी द्विपक्षीय सम्झौता सम्पन्न भएको हो ।
महानगरपालिकाका तर्फबाट स्वास्थ्य विभाग प्रमुख दीपककुमार के.सी. र अस्पतालका तर्फबाट अध्यक्ष डा. भरतकुमार प्रधान श्रेष्ठले सो सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो । सम्झौता, महानगरका कार्यवाहक प्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं र शिक्षा स्वास्थ्य समितिका संयोजक चिनीकाजी महर्जनको को रोहवरमा भएको हो ।
सम्झौता बमोजिम अस्पतालले सार्वजनिक खरिद प्रक्रिया अपनाई स्वास्थ्य उपचारका लागि १ थान एनेस्थेसिया मेसिन, २५० केभीएको १ थान जेनेरेटर, ५ सय एम.ए. को १ थान डिजिटल एक्स-रे मेसिन खरिद हुनेछ ।
उक्त उपकरणहरू आगामी २०८३ जेष्ठ मसान्तभित्र जडान गरिसक्नुपर्ने सर्त राखिएको छ । उपकरण जडानपश्चात् महानगरपालिकाको प्राविधिक टोलीले अनुगमन गर्ने र सोही अनुगमन प्रतिवेदनका आधारमा बिल बमोजिमको रकम महानगरले भुक्तानी गर्ने व्यवस्था मिलाइएको छ ।
सम्झौताका अवसरमा कार्यवाहक प्रमुख सुनिता डंगोलले कीर्तिपुर अस्पतालले जलन उपचार जस्तो संवेदनशील क्षेत्रमा पुर्याउँदै आएको योगदानलाई मध्यनजर गर्दै अनुदान प्रदान गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “कीर्तिपुर अस्पतालबाट महानगरबासीले पनि ठुलो संख्यामा सेवा लिइरहनुभएको छ । यो सहकार्य पालिका-पालिका र पालिका-अस्पताल बीचको सम्बन्धको एउटा उत्कृष्ट नमूना हो ।”
त्यस्तै, शिक्षा स्वास्थ्य समितिका संयोजक चिनीकाजी महर्जनले महानगरपालिकाले स्वास्थ्य क्षेत्रमा सेवा भावले काम गरिरहेका संस्थाहरूसँग सहकार्य गर्ने नीति लिएको स्पष्ट पार्नुभयो । अस्पतालका अध्यक्ष डा. भरतकुमार प्रधान श्रेष्ठले जलनका बिरामीको उपचार जटिल र चुनौतीपूर्ण हुने उल्लेख गर्दै महानगरको यो सहयोगले सेवा प्रवाहलाई थप सहज बनाउने विश्वास व्यक्त गर्नुभयो ।
यस सहयोगबाट महानगरबासीका साथै कीर्तिपुर अस्पतालमा उपचारका लागि आउने अन्य बिरामीहरूले पनि सुलभ र गुणस्तरीय उपचार सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ ।