मुस्ताङमा ३० प्रतिशत मात्रै स्याउ निकासी, सडक अवरुद्ध हुँदा किसानलाई घाटाको चिन्ता

मुस्ताङ, २७ असोज । भारी वर्षापछि आएको बाढीपहिरो र नदी कटानका कारण बेनी–जोमसोम सडक दुई सातासम्म अवरुद्ध हुँदा मुस्ताङमा उत्पादित स्याउको निकासी प्रभावित भएको छ। हालसम्म जिल्लामा उत्पादित स्याउमध्ये ३० प्रतिशत मात्रै जिल्ला बाहिर पठाइएको छ।

असोज ११ गतेको भारी वर्षाले सडक अवरुद्ध भएपछि गत वर्षको यही समयको तुलनामा यस वर्ष स्याउ निकासी निकै कम भएको हो। सडक सञ्चालनमा आएसँगै किसान र व्यापारीले स्याउ टिपेर बजार पठाउन थालेका छन्।

कृषि तथा पशु विकास शाखा मुस्ताङका प्रमुख डा. लालमणि अर्यालका अनुसार यस वर्ष स्याउ उत्पादन राम्रो भए पनि सडक अवरुद्ध हुँदा बिक्री तथा व्यवस्थापनमा समस्या भएको छ। अहिलेसम्म करिब ७० प्रतिशत स्याउ बजारमा पुगिसक्नुपर्ने भए पनि ३० प्रतिशत मात्रै जिल्ला बाहिर निकासी भएको उहाँले बताउनुभयो। जिल्लामा उत्पादित स्याउमध्ये करिब १० प्रतिशत मुस्ताङमै खपत हुने गरेको छ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम मुस्ताङका प्रमुख भरत गौतमका अनुसार यस वर्ष जिल्लामा १० हजार मेट्रिक टन स्याउ उत्पादन भएको अनुमान छ। गत वर्ष सात हजार मेट्रिक टन स्याउ उत्पादन भएको थियो।

उत्पादन बढेकाले यस वर्ष झन्डै दुई अर्ब रुपैयाँबराबरको स्याउ बिक्री हुने अनुमान गरिएको गौतमले बताउनुभयो।

भारी वर्षापछि अवरुद्ध बेनी–जोमसोम सडक मर्मत गरेर सञ्चालनमा ल्याइए पनि यातायात पूर्ण रूपमा सहज भइसकेको छैन। स्याउ बिक्री गर्ने मुख्य याम घर्किन लागेपछि किसानले अहिले धमाधम स्याउ टिपेर बजार पठाउन थालेका छन्।

मुस्ताङमा उत्पादित स्याउ हरितालिका तीजदेखि बडादसैँसम्म बढी खपत हुने गर्छ। तर, यसपालि सडक लामो समय अवरुद्ध हुँदा किसान तथा व्यापारीले समयमै स्याउ बजार पुर्‍याउन सकेनन्।

सडक सञ्चालनमा आएसँगै मुस्ताङका पाँचवटै स्थानीय तहमा उत्पादित स्याउ बिक्रीका लागि बजार पठाउन थालिएको छ।

घरपझोङ गाउँपालिका–५ ढुम्बास्थित चिम्ले अचार्ड कृषि फार्मका व्यवस्थापक आइतराम तामाङका अनुसार बेनी–जोमसोम सडक सञ्चालन भएको दुई दिनमा छ ट्रक स्याउ काठमाडौं पठाइएको छ। उहाँका अनुसार हालसम्म ३० प्रतिशत मात्रै स्याउ बजारमा पठाउन सकिएको छ।

जिल्लास्तरीय बोर्डको निर्णयअनुसार छिटो पाक्ने स्याउ भदौ १५ गतेदेखि र ढिलो पाक्ने स्याउ भदौ २२ गतेदेखि बगैँचाबाट टिप्न सकिने व्यवस्था गरिएको थियो। तर, सडक अवरुद्ध हुँदा स्याउ निकासीमा ढिलाइ भएपछि किसान र व्यापारीलाई उत्पादन बिक्री तथा व्यवस्थापन गर्न चुनौती थपिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *