दिक्तेल रुपाकोट मझुवागढीमा नसर्ने रोगको ‘स्क्रिनिङ’ अभियान सुरु : चैतमा निःशुल्क विशेषज्ञ शिविर हुने

काठमाडौँ, माघ २७ ।  खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नसर्ने रोगको समयमै पहिचान र उपचार गर्ने उद्देश्यले नगरव्यापी ‘स्क्रिनिङ’ अभियान सुरु गरेको छ । ३० वर्षभन्दा माथिका नागरिकलाई लक्षित गरी सुरु गरिएको यस अभियानमार्फत उच्च रक्तचाप, मधुमेह, मुटु, दम, क्यान्सर र मिर्गौलासम्बन्धी रोगहरूको पहिचान गरिनेछ ।

नगरपालिकाका अनुसार आगामी चैत पहिलो हप्तासम्म सञ्चालन हुने यस स्क्रिनिङ अभियानको पहिलो दिन ५८ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । पहिलो दिनको परीक्षणमा चार जनामा उच्च रक्तचाप र सात जनामा पिसाबसम्बन्धी समस्या देखिएको नगर स्वास्थ्य शाखा प्रमुख खेमराज आचार्यले जानकारी दिनुभयो । पिसाबमा समस्या देखिएका व्यक्तिहरूलाई थप परीक्षणका लागि जिल्ला अस्पताल जान सुझाव दिइएको छ ।

यस अभियानलाई प्रभावकारी बनाउन नगरपालिकाले आगामी चैत ५ र ६ गते विशेषज्ञ चिकित्सकसहितको निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने तयारी गरेको छ । काठमाडौँस्थित हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिको प्राविधिक सहयोगमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको भवनमा सञ्चालन हुने उक्त शिविरमा विभिन्न विधाका विशेषज्ञ डाक्टरहरूले बिरामीको उपचार गर्नेछन् ।

नगरप्रमुख तीर्थराज भट्टराईले सबै वडा कार्यालय, स्वास्थ्यकर्मी, राजनीतिक दल र नागरिक समाजलाई यस अभियानमा सहयोग गर्न आह्वान गर्नुभएको छ । उहाँले ३० वर्ष पूरा भएका सबै नगरवासीलाई अनिवार्य रूपमा स्वास्थ्य परीक्षण गराई आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी लिन आग्रह गर्नुभएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को तथ्याङ्कअनुसार विश्वमा ७१ प्रतिशत मृत्यु नसर्ने रोगका कारण हुने गरेको र नेपालमा पनि यसको जोखिम बढ्दो रहेकाले नगरपालिकाले पूर्वसतर्कताका रूपमा यो कार्यक्रम ल्याएको हो ।

यसैबीच, नगरपालिकाले पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि ‘एचपिभी’ खोप अभियान पनि सञ्चालन गर्ने भएको छ । यही माघ २८ देखि फागुन १ गतेसम्म सञ्चालन हुने यस अभियानअन्तर्गत कक्षा ६ मा अध्ययनरत छात्राका साथै १० देखि १४ वर्ष उमेर समूहका विद्यालय बाहिर रहेका किशोरीहरूलाई खोप प्रदान गरिनेछ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मात्रै ७१९ किशोरीहरूलाई यो खोप लगाउने लक्ष्य राखिएको स्वास्थ्य शाखाले जनाएको छ ।