वैदेशिक रोजगारीको प्रलोभन देखाई ८० लाख ठग्ने तीन जना पक्राउ
काठमाडौँ, १ फागुन । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ८० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । बेलायत र रोमानियामा आकर्षक तलबको प्रलोभन देखाएर ५ जना पीडितबाट उक्त रकम ठगी गरेको अभियोगमा उनीहरू पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरूमा
१. जटाधर राउत (महोत्तरी, सम्सी गाउँपालिका–१)
२. थमराज नेपाली (सोलुखुम्बु, थुलुङ दूधकोशी गाउँपालिका–३)
३. रामकुमार राई (ललितपुर, महालक्ष्मी नगरपालिका–१) रहेका छन् ।
प्रहरीका अनुसार पक्राउ परेका अभियुक्तहरूले पीडितहरूलाई वैदेशिक रोजगारीका लागि बेलायत र रोमानिया पुगेपछि मोटो कमाइ हुने विश्वास दिलाएका थिए । सोही प्रलोभनमा परी पीडितहरूले विभिन्न समयमा गरी कुल ८० लाख रुपैयाँ उनीहरूलाई बुझाएका थिए । तर, रकम बुझेपछि अभियुक्तहरूले वैदेशिक रोजगारीमा नपठाई सम्पर्कविहीन भएका थिए ।
पक्राउ परेका तीनै जनालाई बिहीबार सार्वजनिक गरिएको छ । उनीहरूमाथि थप अनुसन्धान र आवश्यक कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभागमा बुझाइएको प्रहरीले जनाएको छ । पछिल्लो समय वैदेशिक रोजगारीका नाममा ठगी हुने क्रम बढेकाले सचेत रहन समेत प्रहरीले आग्रह गरेको छ ।