श्री एयरलाइन्सको जहाज धनगढीमा अवतरण हुन नसकेपछि मध्यरातमा काठमाडौँ फिर्ता, ८० यात्रु अलपत्र
काठमाडौँ, ५ फागुन । काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज गन्तव्यमा अवतरण हुन नसकेपछि मध्यरातमा पुनः काठमाडौँ नै फर्किएको छ । धनगढी विमानस्थलमा अवतरणका लागि पटक–पटक प्रयास गर्दा पनि सफल नभएपछि जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फर्किएको हो ।
जहाजमा चालक दलका सदस्यसहित ८० जना यात्रु सवार थिए । उक्त जहाज आइतबार राति ९:४५ बजे काठमाडौँबाट धनगढीका लागि उडेको थियो । धनगढीको आकाशमा पुगेर अवतरणका लागि धेरैपटक कोसिस गरे पनि प्राविधिक कारण वा मौसमको खराबीले गर्दा सम्भव नभएपछि जहाज राति १२:०० बजे काठमाडौँ अवतरण गरेको थियो ।
जहाजमा रहनुभएका सञ्चारकर्मी रोयल आचार्यका अनुसार मध्यरातमा जहाज फर्किएपछि विमानस्थलमा यात्रुहरूले निकै असन्तुष्टि र आक्रोश व्यक्त गरेका थिए । गन्तव्यमा पुग्न नपाउँदा यात्रुहरू अलपत्र परेका छन् ।
श्री एयरलाइन्सका कर्मचारी सागर पौडेलले यात्रुहरूको व्यवस्थापनका लागि दुई वटा विकल्प दिइएको जानकारी दिनुभयो । “यात्रा रद्द गर्न चाहने यात्रुलाई टिकटको पूर्ण रकम फिर्ता गरिनेछ,” उहाँले भन्नुभयो, “अन्य यात्रुहरूलाई मङ्गलबार बिहानको पहिलो उडानबाट धनगढी पठाइनेछ ।”
धनगढी विमानस्थलमा रात्रिकालीन उडान र अवतरणमा कहिलेकाहीँ मौसम तथा न्यून दृश्यता (Visibility) का कारण यस्ता समस्या आउने गरेका छन् ।