भोजपुरमा डढेलो नियन्त्रणका लागि उच्च सतर्कता : सुरक्षा सामग्रीसहित सचेतना अभियान सुरु

काठमाडौँ, फागुन ५ । हिउँदयामको सुरुवातसँगै बढ्दो सुक्खापन र वन डढेलोको जोखिमलाई मध्यनजर गर्दै डिभिजन वन कार्यालय भोजपुरले जिल्लाव्यापी पूर्वतयारी तथा सचेतना अभियान सुरु गरेको छ। सम्भावित आगलागी नियन्त्रण र न्यूनीकरणका लागि कार्यालयले आवश्यक अग्नि नियन्त्रण सामग्रीहरू समेत हस्तान्तरण गरेको छ ।

डिभिजन वन कार्यालयका प्रमुख खुद्रुस मियाँका अनुसार डढेलो नियन्त्रण तथा सर्प उद्धारमा प्रयोग हुने ११ प्रकारका २१६ थान सामग्री जिल्ला विपद् जोखिम न्यूनीकरण समितिलाई उपलब्ध गराइएको छ । सुक्खा मौसममा तापक्रम वृद्धिसँगै वन क्षेत्रमा हुनसक्ने क्षति कम गर्न उच्च जोखिमयुक्त क्षेत्रहरू पहिचान गरी यो अभियान थालिएको हो ।

जोखिमयुक्त क्षेत्रहरूको पहिचान
कार्यालयले जिल्लाका नौवटै स्थानीय तहका दर्जनौँ स्थानलाई डढेलोको ‘उच्च जोखिम’ सूचीमा राखेको छ। पौवादुङका ठूलोदुम्मा, सानोदुम्मा, बास्तिम, श्यामशिला र औलिया, हतुवागढीका रानीवास, होम्ताङ, पालोपानी, हसनपुर, खैराङ र डाँडाबर्क, रामप्रसादराईका  मानेभञ्ज्याङ, कावा दोभान, सीतेडाँडा, बेहेरे, सल्लेरी, कटुन्जे र जलापदेवी, भोजपुर नगरपालिकाका पारपानी, टक्सार, आम्तेक, पालुवा, हेलौछा, दाँवा र राममाटेलाई उच्च जोखिममा राखिएको छ । अरुण गाउँपालिकाका जरायोटार, सिक्रेटार, याकु, र्याङ, याङपाङ र चम्पे, आमचोकका पाङ्चा, धारापानी, फेदी, दुम्माना र देवानटार, टेम्केमैयुङका  गोगने, कोट, खाल्डे र केराबारी, षडानन्द नगरपालिकाका देउराली, दिङ्ला, चिउरीबोटे, नेपालेडाँडा र कुदाकाउले, साल्पासिलिछो: कुलुङ, चौकीडाँडा र सालेवा दोभाने क्षेत्रलाई संवेदनशील मानिएको छ।

वन कार्यालयले डढेलो नियन्त्रणका लागि स्थानीय तह, सुरक्षा निकाय तथा सामुदायिक वन उपभोक्ता समूहहरूसँग समन्वय गरी नियमित निगरानी र सचेतनाका कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। वन क्षेत्र आसपास हुने मानवीय गतिविधि, सुक्खा घाँसदाउरा र लापर्बाही नै डढेलोको मुख्य कारण देखिएकाले वनमा जथाभावी आगो नबाल्न, चुरोटका ठुटा जताततै नफाल्न र खरानी नसेलाउन सर्वसाधारणमा विशेष आग्रह गरिएको छ।

समयमै अपनाइने सतर्कता र सामूहिक प्रयासबाट डढेलोबाट हुने वन तथा जैविक विविधताको क्षति न्यूनीकरण गर्ने लक्ष्य कार्यालयले राखेको छ।