वरिष्ठ साहित्यकार राम विनयलाई ‘हृदयचन्द्र स्मृति सम्मान’ अर्पण

काठमाडौँ, ५ फागुन । साहित्य सदन नेपालको स्थापना दिवस तथा प्रगतिवादी साहित्यकार हृदयचन्द्रसिंह प्रधानको १११औँ जन्मजयन्तीका अवसरमा यस वर्षको ‘हृदयचन्द्र स्मृति सम्मान’ वरिष्ठ साहित्यकार राम विनयलाई प्रदान गरिएको छ । विगत साढे छ दशकदेखि नेपाली साहित्यको श्रीवृद्धिमा अनवरत क्रियाशील रही कविता, निबन्ध र कथा विधाका माध्यमबाट समाज रूपान्तरणमा पुर्याउनुभएको विशिष्ट योगदानको कदरस्वरूप विनयलाई यो सम्मान प्रदान गरिएको हो । उहाँले ‘साहित्य सन्ध्या’ जस्तो गरिमामय संस्थाको नेतृत्व गर्दै साहित्यिक आन्दोलनलाई उचाइमा पुर्याउन समेत महत्त्वपूर्ण भूमिका खेल्नुभएको छ ।

सोमबार आयोजित एक विशेष समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेती, वरिष्ठ समालोचक प्रा. डा. दयाराम श्रेष्ठ, साहित्यकार कोशराज न्यौपाने, सदनका अध्यक्ष प्रा. डा. हेमनाथ पौडेल र पूर्वमन्त्री एवं साहित्यकार शान्ता मानवीले संयुक्त रूपमा विनयलाई सम्मान पत्र र नगद पुरस्कार हस्तान्तरण गर्नुभयो। उक्त सम्मानको राशि ५० हजार रुपियाँ रहेको छ ।

कार्यक्रमको अवसर पारेर सदनको प्राज्ञिक मुखपत्र ‘साहित्य सदन’ प्रकाशनको समेत लोकार्पण गरिएको थियो । सो अवसरमा वक्ताहरूले हृदयचन्द्रसिंह प्रधानको बहुआयामिक व्यक्तित्व र नेपाली साहित्यमा राम विनयको समर्पणबारे चर्चा गर्नुभएको थियो ।