भक्तपुर–१ मा चुनावी घरदैलो तीव्र : नेमकिपाको ‘विरासत’ जोगाउने होड, विपक्षीहरू ‘किल्ला’ भत्काउने दाउमा

भक्तपुर, ५ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिएसँगै भक्तपुरमा चुनावी सरगर्मी ह्वात्तै बढेको छ । भक्तपुर क्षेत्र नं. १ र २ मा उम्मेदवारी दिएका मुख्य राजनीतिक दलका उम्मेदवारहरू बिहानदेखि साँझसम्म विकासका एजेन्डासहित घरदैलो अभियानमा व्यस्त बनेका छन् ।

विशेषगरी नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को ‘लालकिल्ला’ मानिने भक्तपुर क्षेत्र नं. १ को चुनावी प्रतिस्पर्धा यसपटक रोचक बन्ने देखिएको छ । नेकपा (एमाले), नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका दलहरू नेमकिपाको वर्षौँ पुरानो विरासत भत्काउने रणनीतिका साथ गाउँ पसेका छन् भने नेमकिपा आफ्नो पकड जोगाउने कसरतमा छ ।

भक्तपुर–१ मा नेमकिपाका तर्फबाट केन्द्रीय सचिव प्रेम सुवाल चौथो पटक चुनावी मैदानमा हुनुहुन्छ । यस क्षेत्रमा २०४८ सालदेखि २०७० सालसम्म पार्टी अध्यक्ष नारायणमान बिजुक्छेले निरन्तर जित हासिल गर्दै आउनुभएको थियो । २०७४ सालदेखि सुवालले यो विरासत थाम्दै आउनुभएको छ ।

गत २०७९ सालको निर्वाचनमा सुवालले ४२ हजार ७६१ मत ल्याएर विजयी हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका नवराज गेलालले ११ हजार ९६८ मत मात्र प्राप्त गर्नुभएको थियो । ३० हजारभन्दा बढी मतान्तरको यो फराकिलो जितलाई आधार मान्दै नेमकिपा यसपटक पनि आफू पहिलो शक्ति बन्ने दाबी गरिरहेको छ ।

उम्मेदवार सुवालले समाजवादी व्यवस्था स्थापना, नागरिकता नीतिमा कडाइ, भ्रष्टाचारविरुद्ध कठोर कानुन र निःशुल्क शिक्षा–स्वास्थ्यको एजेन्डा लिएर मतदातामाझ पुग्नुभएको छ । उहाँले भन्नुभयो, “हामी संसद्लाई मन्त्री र प्रधानमन्त्री चुन्ने थलो मात्र होइन, जनताको पीडा बोल्ने र देशको रक्षा गर्ने थलो बनाउन चाहन्छौँ ।”

नेमकिपाको गढ भत्काउन विपक्षी दलहरूले ‘विकासमा विभेद’ भएको विषयलाई मुख्य चुनावी मुद्दा बनाएका छन् । उनीहरूले नेमकिपाले भक्तपुर नगरपालिका क्षेत्रलाई मात्र प्राथमिकता दिएको र चाँगुनारायण लगायतका काँठ क्षेत्रलाई बेवास्ता गरेको आरोप लगाएका छन् ।

नेकपा (एमाले) का उम्मेदवार सोमप्रसाद मिश्रले नेमकिपाले विकासमा विभेद गरेको आरोप लगाउनुभयो । चाँगुनारायण नगरपालिकाका पूर्वप्रमुख समेत रहनुभएका मिश्रले भन्नुभयो, “नेमकिपाले भक्तपुर नगरबाहेकका क्षेत्रलाई सधैं बेवास्ता गर्यो । यसपटक जनताले त्यो विभेदको अन्त्य गर्नेछन् ।”

यस्तै, नेपाली कांग्रेसका उम्मेदवार एवं नेपाल बार एसोसिएसन भक्तपुरका पूर्वअध्यक्ष किरण न्यौपानेले पनि कांग्रेस नयाँ स्वरूपमा आएको भन्दै जित्ने दाबी गर्नुभयो । उता, रास्वपाका उम्मेदवार रुकेश रञ्जितले चुनाव जितेपछि गाउँ नफर्कने नेमकिपाको प्रवृत्तिका कारण यसपटक नतिजा उल्टिने जिकिर गर्नुभयो ।

यस क्षेत्रमा विभिन्न दल र स्वतन्त्र गरी कुल २५ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । जसमा नेकपा (एकीकृत समाजवादी) का हरिराम लवजु, राप्रपाका भरतबहादुर खड्का, जनमोर्चाका ईश्वरीप्रसाद पैयानी, जसपाका श्यामसुन्दर शिल्पकार लगायतका नेताहरू चुनावी मैदानमा छन् ।

स्वतन्त्र उम्मेदवारहरू सुजिता बुढाथोकी, विष्णुराम दुमरु, राजेश्वरी प्रजापति लगायतले पनि सामाजिक सञ्जाल र घरदैलोमार्फत प्रचारलाई तीव्रता दिएका छन् ।