झापा क्षेत्र नम्बर ५ मा एमालेको चुनावी सरगर्मी: युवाहरूको मार्चपास प्रदर्शन

दमक, ६ फागुन । आगामी प्रतिनिधि सभा निर्वाचनको प्रचार–प्रसारलाई तीव्र बनाउँदै नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले झापाको निर्वाचन क्षेत्र नम्बर ५ अन्तर्गत कमल गाउँपालिकामा विशाल युवा मार्चपास प्रदर्शन गरेको छ। बुधबार आयोजित उक्त मार्चपास निर्वाचन लक्षित जनपरिचालन अभियानको एक हिस्सा भएको एमालेले जनाएको छ।

कमल गाउँपालिकाका दुई छुट्टाछुट्टै स्थानबाट सुरु भएको मार्चपासमा युवाहरूको बाक्लो उपस्थिति रहेको थियो। साविक लखनपुर खण्डका वडा नम्बर ५, ६ र ७ का युवाहरूले लखनपुर चोकदेखि पाडाजुङ्गीसम्म एमालेको पक्षमा प्रदर्शन गरेका थिए। त्यसैगरी, साविक तोपगाछी खण्डका युवाहरूले केराधाप चोकदेखि केर्खासम्म मार्चपास गरेको एमाले गाउँ कमिटी अध्यक्ष हरि ढकालले जानकारी दिनुभयो।

सांस्कृतिक झाँकी, पार्टीको झण्डा र नाराबाजीसहित निकालिएको र्‍याली समापनका क्रममा दुवै स्थानमा आयोजित कोणसभालाई सम्बोधन गर्दै नेताहरूले आगामी निर्वाचनबाट एमालेले मुलुकको नेतृत्वका लागि स्पष्ट बहुमत प्राप्त गर्ने दाबी गरे।

पाडाजुङ्गीमा आयोजित सभालाई सम्बोधन गर्दै एमाले केन्द्रीय सदस्य एवं निर्वाचन क्षेत्र परिचालन समितिका संयोजक देवेन्द्र दाहालले यो क्षेत्रको मात्र नभई समग्र मुलुकको विकास र समृद्धिको नेतृत्व गर्ने सामर्थ्य एमालेसँग मात्र रहेको बताउनुभयो। उहाँले आगामी निर्वाचनले राष्ट्रवादी र राष्ट्रविरोधी शक्तिहरूबीचको कित्ताकाट गर्ने उल्लेख गर्दै एमालेले राष्ट्रवादी धारको नेतृत्व गरिरहेको धारणा राख्नुभयो।

यस्तै, केर्खा बजारमा आयोजित कोणसभामा एमाले जिल्ला उपाध्यक्ष शिव ढुङ्गेलले मुलुक र जनताको हितमा काम गर्ने एक मात्र शक्ति एमाले भएको दाबी गर्नुभयो। केही तत्वहरूले युवाहरूलाई भ्रममा पारेर दुष्प्रचार गरिरहेको भन्दै उहाँले त्यस्ता भ्रमका विरुद्ध आम जनता सचेत भइसकेको तर्क गर्नुभयो।

झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उम्मेदवार हुनुहुन्छ। यस क्षेत्रमा एमालेले प्रत्येक वडा र टोल तहसम्म निर्वाचन परिचालन तथा प्रचार–प्रसार समितिहरू गठन गरी मतदाता भेटघाटलाई सघन बनाएको छ। महिला, युवा, विद्यार्थी, किसान, मजदुर र बुद्धिजिवी लगायतका विभिन्न क्लस्टरहरू निर्वाचन परिचालनमा सक्रिय रहेको पार्टीका केन्द्रीय सदस्य एवं निर्वाचन प्रचार–प्रसार उपसमितिका संयोजक इन्द्र भण्डारीले जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *