निर्वाचन आचारसंहिता: मतदाताका लागि कडा नियम, उल्लङ्घन गरे कारबाही हुने

काठमाडौँ, ६ फागुन । आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारलाई मात्र नभई आम मतदातालाई समेत जिम्मेवार बनाउने गरी विशेष आचारसंहिता लागू गरेको छ।

निर्वाचन आचारसंहिता केवल उम्मेदवार र सरकारी अधिकारीका लागि मात्र नभई सर्वसाधारण मतदाताका लागि पनि उत्तिकै अनिवार्य रहेको आयोगले स्पष्ट पारेको छ।

निर्वाचन आयोगले जारी गरेको आचारसंहिताको परिच्छेद ५, दफा २१ मा मतदाताले पालना गर्नुपर्ने आचरणहरू विस्तृत रूपमा उल्लेख गरिएको छ। जसअनुसार, मतदानको दिन कुनै पनि राजनीतिक दल वा स्वतन्त्र उम्मेदवारको निर्वाचन चिह्न झल्कने ट्याटू शरीरमा खोपिएको छ भने त्यसलाई प्रदर्शन गर्न पाइने छैन। यस्तो कार्यलाई आचारसंहिताको गम्भीर उल्लङ्घन मानिनेछ।

आयोगका अनुसार मतदान केन्द्रमा जाँदा मतदाताले देहायका नियमहरू पालना गर्नुपर्नेछ:

निषेधित सामग्री: मतदान केन्द्रमा मोबाइल फोन, क्यामरा, प्रज्वलनशील ठोस वा तरल पदार्थ साथमा लैजान पाइने छैन।
पोशाक र लोगो: कुनै पनि दल वा उम्मेदवारको निर्वाचन चिह्न, झण्डा अङ्कित कपडा, टी–शर्ट, ज्याकेट, टोपी, मास्क, स्टिकर वा ब्याच लगाउन र त्यस्ता चिह्न भएका झोला बोक्न निषेध गरिएको छ।
नसालु पदार्थ: मतदान गर्न जाँदा मादक पदार्थ वा कुनै पनि प्रकारको नसालु पदार्थ सेवन गर्न पाइने छैन।
भ्रामक प्रचार: मतदानबाट वञ्चित गराउने उद्देश्यले झुटो अफवाह फैलाउन, भ्रामक समाचार सम्प्रेषण गर्न वा सामाजिक सञ्जाल (एसएमएस, फेसबुक आदि) मार्फत कसैको पक्ष वा विपक्षमा तथ्यहीन सामग्री प्रकाशन गर्न पाइने छैन।

निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार निर्वाचनलाई अनुशासित बनाउन मतदाताका लागि पनि आचरण तोकिएको हो।

कारबाहीको व्यवस्था: आचारसंहिता उल्लङ्घन गर्ने मतदातालाई निर्वाचन (कसूर तथा सजाय) ऐन बमोजिम कारबाही गरिनेछ। विशेषगरी मतदानको गोपनीयता भङ्ग गर्ने कार्य गरेमा १५ हजार रुपैयाँसम्म जरिबाना हुन सक्ने व्यवस्था छ। आयोगले हालसम्म विभिन्न उजुरीका आधारमा राजनीतिक दल र उम्मेदवारहरूलाई स्पष्टीकरण सोधिसकेको र अनुगमन कार्यलाई तीव्र बनाएको जनाएको छ।

मतदाता शिक्षा र परिचयपत्र: आयोगले मतदातालाई सुसूचित गराउन फागुन ३ देखि १७ गतेसम्म देशभरका ७५३ स्थानीय तहका ६,७४३ वडाहरूमा मतदाता शिक्षा स्वयंसेवक परिचालन गर्ने भएको छ। उनीहरूले घरदैलोमा पुगेर मतदान गर्ने सही तरिका र आचारसंहिताबारे जानकारी दिनेछन्।

नयाँ मतदाताहरूको हकमा मतदानको दुई दिन अगाडि सम्बन्धित मतदान केन्द्रबाटै परिचयपत्र वितरण गर्ने तयारी आयोगले गरेको छ। यदि परिचयपत्र वितरणमा समस्या आएमा आयोगले वैकल्पिक व्यवस्थाबारे समयमै निर्णय गर्ने सूचना अधिकारी घिमिरेले जानकारी दिनुभयो।

प्राथमिकताको व्यवस्था: मतदानलाई सहज बनाउन ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती, सुत्केरी, बिरामी र किरियापुत्रीलाई लाइनमा नबसी प्राथमिकताका आधारमा मतदान गर्ने विशेष व्यवस्था मिलाइएको आयोगले जनाएको छ।