निर्वाचन बहिष्कार अभियानमा संलग्न रहेको आरोपमा नेकपा महासचिव ऋषि कट्टेल पक्राउ

काठमाडौँ, ६ फागुन । नेपाल कम्युनिस्ट पार्टीका महासचिव ऋषि कट्टेललाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ। आगामी फागुन २१ गतेका लागि तय गरिएको निर्वाचन बहिष्कारको घोषणा गर्दै विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा कट्टेललाई बुधबार दिउँसो पार्टी कार्यालयबाटै नियन्त्रणमा लिइएको हो।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) रामेश्वर कार्कीका अनुसार कट्टेलसँगै सोही पार्टीका नेता विष्णुप्रसाद तिमल्सिनालाई पनि पक्राउ गरिएको छ। उनीहरूमाथि निर्वाचन बिथोल्ने उद्देश्यले विभिन्न गतिविधि सञ्चालन गरेको अभियोग लगाइएको छ।

निर्वाचन विरोधी अभियानमा सक्रिय रहेको भन्दै प्रहरीले यसअघि नै नेकपा (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोलालाई पनि नियन्त्रणमा लिइसकेको छ। बास्तोलालाई मंगलबार दिउँसो काठमाडौँको टेबहालबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। यस्तै, निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

निर्वाचन बहिष्कारको घोषणा गरी शान्ति सुरक्षामा खलल पुर्‍याउन खोज्ने अन्य वामपन्थी दलका नेताहरूको समेत खोजी कार्य तीव्र पारिएको प्रहरी स्रोतले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *