जनकपुरबाट नेपाली कांग्रेसको ‘प्रतिज्ञापत्र’ सार्वजनिक: १० बुँदे ‘भिजन’ सहितको खाका(सूचीसहित)
काठमाडौँ, ७ फागुन । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आफ्नो चुनावी सङ्कल्प (प्रतिज्ञापत्र) सार्वजनिक गरेको छ । मधेस प्रदेशको ऐतिहासिक एवं सांस्कृतिक नगरी जनकपुरधाममा बुधबार आयोजित एक विशेष समारोहका बीच कांग्रेसले ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ को नारासहित आफ्नो योजना अघि सारेको हो ।
पार्टी सभापति गगनकुमार थापा, उपसभापति एवं निर्वाचन परिचालन समितिका संयोजक विश्वप्रकाश शर्मा, उपसभापति पुष्पा भुसाल लगायतका शीर्ष नेताहरूको उपस्थितिमा प्रतिज्ञापत्र सार्वजनिक गरिएको हो । कांग्रेसले यसपटकको दस्तावेजलाई केवल घोषणापत्र मात्र नभई जनतासँग गरिएको ‘पवित्र प्रतिज्ञा’ को रूपमा व्याख्या गरेको छ ।
प्रतिज्ञापत्र सार्वजनिक गरेलगत्तै पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले यसपटकको भिजनलाई ‘कांग्रेस २.०’ को जगका रूपमा अर्थ्याउनुभयो । “हामीले जिम्मेवारी र संकल्पको आत्मबोधसहित यो दस्तावेज ल्याएका हौँ,” प्रवक्ता चालिसेले भन्नुभयो, “हामी अमूक वा अमूर्त कारण देखाएर जिम्मेवारीबाट पन्छने छैनौँ । जनताले हाम्रा नेता र कार्यकर्ताको मूल्याङ्कन यही प्रतिज्ञापत्रको कार्यान्वयनका आधारमा गरुन् भन्ने हाम्रो चाहना छ ।”
कांग्रेसले आगामी निर्वाचनमार्फत बहुमतसहितको लोकतान्त्रिक र लोकहितमा समर्पित सरकार बनाउने लक्ष्य लिएको छ ।
के छ १० बुँदे ‘भिजन टेन’ मा ?
कांग्रेसले आफ्ना मुख्य प्राथमिकताहरूलाई सरल रूपमा ‘भिजन टेन’ (Vision 10) का रूपमा यसरी प्रस्तुत गरेको छ:
१. सम्मानित भएर बाँच्न पाउने नेपाल: नागरिकको मौलिक अधिकार र मानवीय मर्यादाको सुनिश्चितता ।
२. सपना देख्न सक्ने नेपाल: युवाहरूको भविष्य सुरक्षित र आशावादी बनाउने वातावरण ।
३. सम्पत्ति र रोजगारी सिर्जनालाई प्रोत्साहन गर्ने नेपाल: लगानीमैत्री वातावरण र व्यापक रोजगारीका अवसर ।
४. किसानको नेपाल: पेटभरि खुवाउने र देशलाई चिनाउने किसानहरूका लागि विशेष राहत र आधुनिक कृषि ।
५. ओखती र ओत दिने नेपाल: गुणस्तरीय स्वास्थ्य सेवा र सुरक्षित आवासको ग्यारेन्टी ।
६. शिक्षामा लगानी: छोराछोरी पढाउन अभिभावकलाई आर्थिक भार नपर्ने शैक्षिक प्रणाली ।
७. विधिको शासन: बेथिति, भ्रष्टाचार र हैरानीमुक्त चुस्त प्रशासनिक व्यवस्था ।
८. आधुनिक नेपाल: मौलिकता र संस्कृतिमा गर्व गर्दै प्रविधिमा जोड दिने आधुनिक राष्ट्र ।
९. स्वाभिमानी नेपाल: अन्तर्राष्ट्रिय क्षेत्रमा सम्मान र पहिचान भएको स्वाभिमानी मुलुक ।
१०. समुन्नतिमा लम्किने नेपाल: दिगो विकास र आर्थिक समृद्धिको ठोस कार्ययोजना ।
कांग्रेसले यस प्रतिज्ञापत्रलाई आफ्नो पुनरुत्थानको सफल सुरुआत भएको दाबी गर्दै जनताको इच्छित भविष्य साकार पार्न आफूहरू प्रतिबद्ध रहेको जनाएको छ । निर्वाचनको मुखमा सार्वजनिक गरिएको यो महत्त्वाकाङ्क्षी दस्तावेजले कांग्रेसको चुनावी अभियानलाई थप ऊर्जा प्रदान गर्ने नेताहरूको विश्वास छ ।
२.भिजन_FINAL_