जहाज अभावले गुल्मीमा हवाई उडान कटौती, अब सातामा तीन दिन मात्र उडान हुने
गुल्मी, १० फागुन । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले गुल्मीको रेसुङ्गा विमानस्थलमा गर्दै आएको नियमित हवाई उडान कटौती गरेको छ । यसअघि सातामा चार दिन उडान भइरहेकोमा जहाज अभावका कारण अबदेखि तीन दिन मात्र उडान हुने भएको हो ।
रेसुङ्गा विमानस्थलका स्टेसन प्रमुख सुमन थापाका अनुसार, निगमले यसअघि आइतबार, मंगलबार, बिहीबार र शनिबार उडान भर्दै आएको थियो । उडान तालिकामा परिवर्तन गरिएसँगै अब बिहीबारको उडान रद्द गरिएको छ । अबदेखि सातामा आइतबार, मंगलबार र शनिबार गरी तीन दिन मात्र उडान हुनेछ ।
उडान कटौती हुनुको मुख्य कारण जहाजको अभाव रहेको निगमले जनाएको छ । नेपाल वायुसेवा निगमसँग हाल तीनवटा मात्र ‘ट्वीनअटर’ जहाज रहेको र ती जहाजको समय–समयमा मर्मतसम्भार (मेन्टेनेन्स) गरिरहनुपर्ने भएकाले केही समयका लागि नियमित तालिका परिवर्तन गरिएको स्टेसन प्रमुख थापाले जानकारी दिए । खराब मौसम र बाक्लो हुस्सु लागेको समयबाहेक पछिल्लो तीन महिनायता यहाँ नियमित उडान हुँदै आएको थियो ।
दिउँसोको समयमा अत्यधिक हावाको चाप हुने भएकाले प्राविधिक दृष्टिकोणले यस विमानस्थलमा बिहान मात्र उडान हुने गर्दछ । १८ सिट क्षमताको ट्वीनअटर जहाजले काठमाडौंबाट बिहान ६:३० बजे र गुल्मीको रेसुङ्गाबाट बिहान ७:३० बजे उडान गर्दै आएको छ । निगमले काठमाडौंबाट गुल्मीका लागि ७ हजार ५०० र गुल्मीबाट काठमाडौंका लागि ७ हजार ३०० रुपैयाँ भाडादर निर्धारण गरेको छ ।
यात्रु बढ्दै, उडान घट्दै
रेसुङ्गा विमानस्थलमा उडान सुरु भएपछि राजधानी काठमाडौंसँगको १८ घण्टा लामो र कष्टकर सडक यात्रा ४५ मिनेटमै छोटिएको छ । सहज हवाई यात्राका कारण जिल्ला भित्रिने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्नुका साथै हवाई सेवा लिने आम नागरिकको चाप पनि उल्लेख्य रूपमा वृद्धि भएको छ ।
तर, यात्रुको माग र चाप उच्च रहेकै बेला उडान संख्या थोरै हुनु र तालिका निरन्तर परिवर्तन भइरहँदा यस क्षेत्रका नागरिक भने मारमा परेका छन् । नेपाल वायुसेवा निगमले रेसुङ्गा विमानस्थलमा गत २०८० वैशाख २९ गतेदेखि व्यावसायिक हवाई उडान सुरु गरेको थियो ।