मनहरीमा बस बिजुलीको पोलमा ठोक्किँदा २२ यात्रु घाइते

मकवानपुर, १० फागुन । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७, बिजौनामा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको बस अनियन्त्रित भई सडक किनारको विद्युत् पोलमा ठोक्किएर दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) पुष्कर बोगटीका अनुसार, बागमती प्रदेश ०६–००१ ख ००५४ नम्बरको यात्रुवाहक बस सडकको बायाँतर्फ रहेको पोलमा ठोक्किन पुगेको थियो ।

दुर्घटनालगत्तै प्रहरी टोलीले घाइतेहरूको उद्धार गरेको थियो । डीएसपी बोगटीले दुर्घटनामा परी घाइते भएका सबै २२ जना यात्रुलाई थप उपचारका लागि चितवनस्थित अस्पताल पठाइएको जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।