सङ्खुवासभाको रिताक केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प

काठमाडौँ, १० फागुन । पूर्वी पहाडी जिल्ला सङ्खुवासभाको रिताक आसपास केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरका अनुसार बिहान ७ बजेर ३१ मिनेटमा ४.१ म्याग्निच्युडको भूकम्प मापन गरिएको हो । भूकम्पको धक्का सङ्खुवासभा र आसपासका जिल्लाहरूमा महसुस गरिएको थियो । यद्यपि, भूकम्पबाट के–कति क्षति भयो भन्नेबारे हालसम्म कुनै यकिन विवरण प्राप्त भइनसकेको अधिकारीहरूले जनाएका छन् ।

यसअघि गत माघ २८ गते लमजुङ जिल्लाको बन्सार आसपास केन्द्रविन्दु भएर ३.९ म्याग्निच्युडको भूकम्प गएको थियो । नेपाल भूकम्पीय जोखिमयुक्त हिमालय क्षेत्रमा पर्ने भएकाले यहाँ बेलाबेलामा साना तथा मझौला भूकम्पका धक्काहरू गइरहन्छन् ।