धादिङ बस दुर्घटना अपडेटः बेलायती नागरिकसहित १९ जनाको मृत्यु, ९ जनाको सनाखत (सूचीसहित)

काठमाडौँ, ११ फागुन । पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक बस धादिङमा दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ । ज्यान गुमाउनेमध्ये एक बेलायती नागरिकसहित ९ जनाको सनाखत (पहिचान) भएको छ भने बाँकी १० जनाको पहिचान खुल्न बाँकी छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार, गएराति बेनीघाट रोराङ गाउँपालिकास्थित चरौँदी नजिकैको भैँसेडाँडामा ग २ ख १२३१ नम्बरको बस दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका २५ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार काठमाडौँस्थित राष्ट्रिय ट्रमा सेन्टरमा १४ जना, कलङ्कीस्थित नेसनल अस्पतालमा १० जना र महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा एक जनाको उपचार भइरहेको छ ।

सनाखत भएका ९ मृतकहरूः
१. स्टेवार्ट डोमिनिक इथान (Stewart Dominic Ethan), वर्ष २४ – बेलायती नागरिक
२. विवेक बस्नेत, वर्ष ४० – पोखरा महानगरपालिका–३०, कास्की
३. चन्द्रबहादुर ढेँकर, वर्ष ६३ – वालिङ–१४, स्याङ्जा (हालः नागार्जुन नगरपालिका–६, काठमाडौँ)
४. ओमकुमार मल्ल, अन्दाजी वर्ष ४० – व्यास–४, तनहुँ
५. इन्जिनियर ढुङ्गाना, अन्दाजी वर्ष ३० – त्रिपुरासुन्दरी गाउँपालिका–४ (साविक सत्यदेवी–८), धादिङ
६. विष्णुमाया ढकाल, अन्दाजी वर्ष ५५ – शुक्लगण्डकी नगरपालिका–७, तनहुँ
७. लोमाङ गोले, अन्दाजी वर्ष २९ – बौद्ध टुसाल, काठमाडौँ
८. हरिप्रसाद सिग्देल, अन्दाजी वर्ष ४५/४६ – भिमाद नगरपालिका–६, तनहुँ
९. नविन्द्र श्रेष्ठ, अन्दाजी वर्ष ५५ – तानसेन नगरपालिका–१, पाल्पा

सनाखत हुन बाँकी १० मृतकको विवरण:
१. अन्दाजी ३०/३२ वर्षीय पुरुष (राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएका)
२. अन्दाजी ३०/३२ वर्षीय पुरुष (दाहिने हातको नाडीमा अंग्रेजीमा ‘Roheeet’ लेखिएको ट्याटु भएको)
३. अन्दाजी १९/२० वर्षीय पुरुष (दाहिने हातको नाडीमा चमेराे र गिटारको ट्याटु भएको)
४. अन्दाजी ४५/५० वर्षीय पुरुष
५. अन्दाजी ५०/५२ वर्षीय पुरुष
६. अन्दाजी २६/२७ वर्षीया महिला
७. अन्दाजी २६/२७ वर्षीया महिला
८. अन्दाजी ३४/३६ वर्षीया महिला
९. अन्दाजी ३० वर्षीया महिला
१०. अन्दाजी ४५ वर्षीया महिला

सनाखत हुन नसकेका मृतकहरूको पहिचानका लागि प्रहरीले मृतकका आफन्त तथा सर्वसाधारणलाई आग्रह गरेको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।