निर्वाचन सुरक्षामा खटिएका बैतडीका एक म्यादी प्रहरीको मृत्यु, १५ दिनभित्रै तीन जनाले गुमाए ज्यान

बैतडी, १२ फागुन । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका लागि बैतडीमा भर्ना भएका थप एक निर्वाचन प्रहरी (म्यादी प्रहरी) को मृत्यु भएको छ । मृत्यु हुनेमा मेलौली नगरपालिका–६ हतरङ्गाका ३८ वर्षीय राजेन्द्रप्रसाद भट्ट रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक सुरज सिंहका अनुसार इलाका प्रहरी कार्यालय मेलौलीमा कार्यरत भट्ट गएराति ड्युटी सकेर घर फर्किएका थिए । घर पुगेलगत्तै उनी एक्कासि बेहोस भएका थिए । बेहोस भट्टलाई तत्काल उपचारका लागि केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । प्रहरीले घटनाको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

बैतडीमा निर्वाचन सुरक्षामा खटिएका म्यादी प्रहरीले ज्यान गुमाएको यो तेस्रो घटना हो । पछिल्लो १५ दिनभित्रै तीन जना म्यादी प्रहरीको मृत्यु भएपछि सुरक्षा निकाय र स्थानीय स्तरमा चिन्ता बढेको छ ।
यसअघि फागुन ८ गते दशरथचन्द नगरपालिका–४ बबेतका ३८ वर्षीय निर्वाचन प्रहरी महादेव वडको पनि मृत्यु भएको थियो । खाना खान घर गएको समयमा अचेत अवस्थामा फेला परेका उनलाई अस्पताल पुर्‍याउँदा मृत घोषणा गरिएको थियो ।

त्यसैगरी, गएको माघ तेस्रो साता दशरथचन्द नगरपालिका–४ कै ३२ वर्षीय निर्वाचन प्रहरी प्रकाश चन्दको भिरबाट लडेर मृत्यु भएको थियो । निर्वाचन नजिकिँदै गर्दा सुरक्षामा खटिएका जनशक्तिको लगातार मृत्यु हुन थालेपछि उनीहरूको स्वास्थ्य अवस्था र सुरक्षा चुनौतीबारे प्रश्न उठ्न थालेको छ ।