सुनचाँदीको मूल्यमा वृद्धि : सुन प्रतितोला ३ लाख २० हजार ५ सय पुग्यो
काठमाडौँ, १७ फागुन । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको छ। अघिल्लो कारोबार दिन (गत शुक्रबार) को तुलनामा आज सुन र चाँदी दुवैको भाउ उच्च रूपले उकालो लागेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज छापावाल सुनको मूल्य तोलामा एकैदिन ५ हजार ६ सय रुपैयाँले बढेको छ। योसँगै आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ लाख २० हजार ५ सय रुपैयाँ कायम भएको छ। यसअघि गत शुक्रबार छापावाल सुन प्रतितोला ३ लाख १४ हजार ९ सय रुपैयाँमा खरिदबिक्री भएको थियो।
सुनसँगै आज चाँदीको भाउ पनि महँगिएको छ। महासङ्घका अनुसार चाँदीको मूल्य प्रतितोला २ सय ४५ रुपैयाँले बढेर आज ५ हजार ९ सय ८५ रुपैयाँ पुगेको छ। गत शुक्रबार चाँदी प्रतितोला ५ हजार ७ सय ४० रुपैयाँमा कारोबार भएको थियो।
स्थानीय बजारमा मात्र नभई अन्तर्राष्ट्रिय बजारमा पनि सुनचाँदीको मूल्य उच्च विन्दुमा पुगेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार हाल विश्व बजारमा सुन प्रतिऔँस ५ हजार २ सय ७८ अमेरिकी डलरमा कारोबार भइरहेको छ। त्यसैगरी, सेतो धातु (चाँदी) को मूल्य प्रतिऔँस ९४ अमेरिकी डलर पुगेको छ।