मध्यपूर्व सङ्कट: अलपत्र नेपालीलाई विमानस्थलमै सुरक्षा र होटलको व्यवस्था, दूतावासहरूलाई ‘हाई अलर्ट’
काठमाडौँ, १७ फागुन । सरकारले मध्यपूर्वका विभिन्न देशका विमानस्थलमा अलपत्र परेका नेपाली नागरिकलाई हालका लागि जहाँ छन् त्यहीँ सुरक्षा र आश्रय दिएर राख्ने निर्णय गरेको छ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सो क्षेत्रका सबै विमानस्थल तत्कालका लागि बन्द रहेकाले नेपालीहरूलाई जहाँ छन् त्यहीँ सुरक्षित व्यवस्थापन गर्ने निर्णय गरेको हो।
बैठकपछि परराष्ट्रमन्त्री बालानन्द शर्माले सञ्चारकर्मीलाई जानकारी दिँदै भन्नुभयो, “अवस्था सामान्य छैन, अहिले सबै विमानस्थल बन्द छन्। त्यसैले कसैलाई तुरुन्त फर्काउन वा गन्तव्यतर्फ लैजान सकिने अवस्था छैन। ट्रान्जिटमा परेका र विमानस्थलमा अड्किएका नेपालीहरूको सुरक्षा र बसोबासका लागि सम्बन्धित मुलुकका दूतावासहरूलाई सक्रिय बनाइएको छ।”
सरकारले मध्यपूर्वमा बढ्दै गएको तनावलाई मध्यनजर गर्दै सम्बन्धित देशका नेपाली दूतावासहरूलाई उच्च सतर्कतामा रहन र नागरिकको अवस्था निरन्तर अनुगमन गर्न निर्देशन दिएको छ। मन्त्री शर्माका अनुसार सम्बन्धित देशका राजदूतहरूमार्फत अलपत्र परेका नेपालीलाई होटलमा बस्ने व्यवस्था मिलाउन र एयरलाइन्स तथा रोजगारदाता कम्पनीहरूसँग समन्वय गरी रेखदेख गर्न भनिएको छ।
साथै, सरकारले मध्यपूर्वका देशहरूका लागि आधिकारिक ‘ट्राभल एडभाइजरी’ (भ्रमण सम्बन्धी सुझाव) समेत जारी गरेको छ। मन्त्रिपरिषद्ले नेपाली नागरिकलाई पर्न सक्ने सम्भावित असर र त्यसको समाधानका विकल्पबारे समेत विस्तृत छलफल गरेको परराष्ट्रमन्त्री शर्माले जानकारी दिनुभयो।