निर्वाचनको मुखैमा सिरहामा जसपा उम्मेदवार पक्राउ : ४ लाख ८७ हजार नगद र मतपत्र बरामद

सिरहा, २० फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा सिरहामा जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार नगदसहित पक्राउ परेका छन् । मौन अवधिको समयमा आचारसंहिता विपरीत गतिविधि गरेको आरोपमा सिरहा क्षेत्र नं. ३ का उम्मेदवार अशेश्वर यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार बुधबार राति करिब १२:३० बजे सिरहा सदरमुकामस्थित शिवचोकमा सवारी चेकजाँचका क्रममा यादव सवार गाडीलाई रोकिएको थियो । नेपाल–भारत सीमा क्षेत्र माडरबाट सदरमुकामतर्फ आउँदै गरेको प्र. २–०२–००१ च ०८७ नम्बरको स्कारपियो गाडीमा शङ्का लागेर खानतलासी गर्दा अवैध रूपमा बोकिएको नगद फेला परेको हो ।

प्रहरीले सो गाडीबाट ४ लाख ८७ हजार रुपैयाँ नगद बरामद गरेको छ । नगदका साथै गाडीभित्र ठूलो सङ्ख्यामा मतपत्रहरू समेत फेला परेको प्रहरीले दाबी गरेको छ । मौन अवधिमा मतदाता प्रभावित पार्नका लागि नगद र मतपत्र बोकेर हिँडेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रहरीले उम्मेदवार यादवसहित गाडीमा सवार अन्य चार जना गरी कुल पाँच जनालाई नियन्त्रणमा लिएको छ । उनीहरू सबैलाई हाल जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार पक्राउ परेकाहरूमाथि निर्वाचन आचारसंहिता उल्लंघन र अन्य कानुनी प्रक्रियाका लागि आवश्यक कागजात तयार पारिँदैछ । उनीहरूलाई थप कारबाहीका लागि आजै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुझाउने तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ ।

निर्वाचनको ठिक अघिल्लो दिन उम्मेदवार नै नगदसहित पक्राउ परेपछि सिरहाको चुनावी माहोल निकै तातिएको छ भने सुरक्षा व्यवस्थामा थप कडाइ गरिएको छ ।