मस्जिदमा सुँगुरको टाउको फाल्ने षड्यन्त्र गर्ने नेकपाका पर्सा निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार मनोज चौधरीसहित ४ पक्राउ

वीरगञ्ज (पर्सा), २० फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा पर्सामा साम्प्रदायिक हिंसा र धार्मिक दङ्गा भड्काउने योजनालाई प्रहरीले विफल तुल्याएको छ ।

गएराति पर्सा प्रहरीले ९ वटा सुतली बम र सुँगुरको टाउकोसहित तीन जनालाई नियन्त्रणमा लिएको हो । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, पक्राउ परेका व्यक्तिहरूले निर्वाचनको मुखमा धार्मिक तनाव सिर्जना गर्नका लागि सुँगुरको टाउको स्थानीय मस्जिदमा फाल्ने तयारी गरेका थिए ।

सुरक्षा स्रोतका अनुसार पक्राउ परेकाहरूले पसलबाट सुँगुरको टाउको किनेर त्यसलाई दुई टुक्रा पारेका थिए । उनीहरूले ती टुक्राहरू मध्यरातमा मस्जिदमा फ्याँकेर मुस्लिम समुदायलाई उत्तेजित बनाउने र जिल्लाभर धार्मिक दङ्गा फैलाउने योजना बुनेको खुलेको छ । “धार्मिक सद्भाव भड्काउने उनीहरूको योजनालाई हामीले सफल हुन दिएनौँ,” एक वरिष्ठ सुरक्षा अधिकारीले बताए ।

प्रहरीले यसै प्रकरणमा संलग्नताको आशङ्कामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार मनोज चौधरीलाई समेत पक्राउ गरेको छ । उम्मेदवार चौधरीलाई शङ्कास्पद वस्तुहरूसहित नियन्त्रणमा लिइएको र उनीमाथि गम्भीर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।