निर्वाचनमा पत्रकारलाई सहज पहुँच दिन महासङ्घको माग : ‘सूचना विभागको पासका आधारमा रिपोर्टिङ गर्न पाउनुपर्छ’
काठमाडौँ, २१ फागुन । नेपाल पत्रकार महासङ्घले प्रतिनिधिसभा सदस्य निर्वाचनको समाचार सङ्कलन र सम्प्रेषणमा पत्रकारहरूलाई सहज वातावरण बनाउन निर्वाचन आयोग र नेपाल सरकारसँग माग गरेको छ। मतदान र मतगणनाको समयमा पत्रकारहरूले प्रशासनिक झन्झट व्यहोर्नुपरेको गुनासो आएपछि महासङ्घले यस्तो माग गरेको हो।
महासङ्घले बुधबार एक विज्ञप्ति जारी गर्दै झन्झटिलो प्रक्रियाका कारण देशभरका पत्रकार तथा सञ्चारगृहहरू समस्यामा परेको उल्लेख गरेको छ।
महासङ्घका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा सूचना तथा प्रसारण विभागबाट जारी प्रेस पास, सम्बन्धित सञ्चारगृहको परिचयपत्र वा नेपाल पत्रकार महासङ्घको परिचयपत्रलाई नै आधिकारिकता मानी मतदान स्थल र मतगणना स्थलमा समाचार सङ्कलनको व्यवस्था मिलाउन आग्रह गरिएको छ।
“पारदर्शी, स्वच्छ र निष्पक्ष निर्वाचनका लागि प्रेसको भूमिका महत्त्वपूर्ण हुन्छ,” विज्ञप्तिमा भनिएको छ, “प्रेसलाई आफ्नो दायित्व निर्वाहमा सहजीकरण गर्नु सम्बद्ध निकायको कर्तव्य हो। सूचना प्रवाहमा अवरोध गरिए निर्वाचन प्रक्रियाप्रति नै आशङ्का उत्पन्न हुन सक्छ।”
महासङ्घले निर्वाचनका क्रममा हुनसक्ने सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै कार्यथलोमा खटिने पत्रकारहरूको सुरक्षामा विशेष ध्यान दिन सरकारसँग माग गरेको छ। साथै, महासङ्घले पत्रकारहरूलाई पनि आफ्नो पेशागत मर्यादा कायम राख्न निर्देशन दिएको छ।
“सबै पत्रकार मित्रहरूलाई तटस्थता कायम राख्दै निर्वाचन आचारसंहिता र पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न महासङ्घ आह्वान गर्दछ,” विज्ञप्तिमा उल्लेख छ।
महासङ्घले आफ्ना सबै प्रदेश समिति, जिल्ला शाखा र संस्थागत सदस्य संस्थाहरूलाई आ–आफ्नो क्षेत्रमा पत्रकारहरूले भोग्नुपरेका समस्या समाधानका लागि सक्रिय र क्रियाशील हुन अपिल गरेको छ। निर्वाचनको समयमा जनतालाई सत्य, तथ्य र निष्पक्ष सूचना पुर्याउने प्रेसको संवैधानिक अधिकारलाई कुण्ठित नगर्न महासङ्घले पुनः ध्यानाकर्षण गराएको छ।