महोत्तरीका स्वतन्त्र उम्मेदवारमाथि मध्यरातमा साङ्घातिक आक्रमण, जनकपुरमा उपचार हुँदै
महोत्तरी, २१ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनको ठिक अघिल्लो रात महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार रामआधार कापरमाथि निर्घात कुटपिट भएको छ । गए राति जलेश्वर नगरपालिका–७ मा अज्ञात समूहले उहाँलाई लक्षित गरी साङ्घातिक आक्रमण गरेको हो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक (एसपी) हेरम्ब शर्माका अनुसार आक्रमणबाट उम्मेदवार कापरको छाती, पिठ्युँ र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ । उहाँको हाल जनकपुरस्थित अस्पतालमा उपचार भइरहेको र अवस्था स्थिर रहेको प्रहरीले जनाएको छ ।
आक्रमण लगत्तै उम्मेदवार कापरले प्रहरीलाई खबर गरेपछि प्रहरी टोली तत्काल घटनास्थल पुगेर उहाँको उद्धार गरेको थियो । “खबर पाउनासाथ हामीले उहाँलाई सुरक्षित रूपमा उद्धार गरी अस्पताल पुर्यायौँ,” एसपी शर्माले भन्नुभयो, “आक्रमणकारीहरू प्रहरी टोली पुग्नुअघि नै फरार भएका थिए, उनीहरूको खोजी कार्य निकै तीव्रताका साथ भइरहेको छ ।”
निर्वाचनको दिन उम्मेदवारमाथि नै आक्रमण भएपछि महोत्तरीमा सुरक्षा संवेदनशीलता बढेको छ । प्रहरीले मतदान प्रक्रियामा कुनै असर पर्न नदिने गरी सुरक्षा व्यवस्थालाई थप कडा पारिएको र घटनाको सूक्ष्म अनुसन्धान भइरहेको जनाएको छ ।