काठमाडौँकी कार्यबाहक मेयर सुनिता डंगोलद्वारा मतदान, नागरिकलाई मताधिकार प्रयोग गर्न अपिल

काठमाडौँ, २१ फागुन । काठमाडौँ महानगरपालिकाकी कार्यबाहक मेयर सुनिता डंगोलले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज बिहान मतदान गर्नुभएको छ ।

उहाँले काठमाडौँ महानगरपालिकाको वडा नम्बर २१ स्थित फसिगा लगनटोल मतदान केन्द्र पुगेर आफ्नो मताधिकार प्रयोग गर्नुभएको हो ।

बिहान ठीक ९:०० बजे मतदान केन्द्र पुग्नुभएकी डंगोलले आफ्नो मतदान प्रक्रिया सम्पन्न गरेपछि सञ्चारकर्मीहरूसँग सङ्क्षिप्त कुराकानी गर्दै सबै मतदातालाई उत्साहका साथ निर्वाचनमा सहभागी हुन आग्रह गर्नुभयो ।

“मुलुकको भविष्य कोर्ने यो महत्त्वपूर्ण अवसरमा सबै नागरिकले आफ्नो मताधिकार प्रयोग गर्नु अनिवार्य छ,” उहाँले भन्नुभयो, “आ-आफ्नो मतदान केन्द्रमा पुगेर निर्धक्क भई मतदान गर्न म सबै महानगरवासी र देशभरका मतदाताहरूमा अपिल गर्दछु ।”

काठमाडौँ उपत्यकाका विभिन्न मतदान केन्द्रहरूमा बिहानैदेखि मतदाताहरूको उल्लेख्य उपस्थिति देखिएको छ । कार्यबाहक मेयर डंगोलले मतदान केन्द्रको व्यवस्थापन र शान्तिपूर्ण वातावरणको समेत प्रशंसा गर्नुभएको थियो ।