काठमाडौँको फसिगा केन्द्रमा चर्चित अनुहारको जमघट : डा. शाक्य, काबा मेयर डङ्गोल र पूर्वमेयर शाक्यद्वारा मतदान
काठमाडौँ, २१ फागुन । काठमाडौँ महानगरपालिका वडा नम्बर २१ स्थित फसिगा लगनटोल मतदान केन्द्रमा आज काठमाडौँका तीन चर्चित राजनीतिक व्यक्तित्वहरूले मतदान गरेका छन्। काठमाडौँ क्षेत्र नम्बर ९ का उम्मेदवार डा. अजयक्रान्ति शाक्य, महानगरकी कार्यवाहक प्रमुख सुनिता डङ्गोल र पूर्वप्रमुख विद्यासुन्दर शाक्यले सोही केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गर्नुभएको हो।
काठमाडौँ क्षेत्र नम्बर ९ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहनुभएका डा. अजयक्रान्ति शाक्यले दिउँसो १२:१० बजे मतदान गर्नुभएको थियो।
सोही मतदान केन्द्रबाट काठमाडौँ महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डङ्गोलले पनि मतदान गर्नुभयो। उहाँले बिहानै मतदान केन्द्र पुगेर आफ्नो भोट खसाल्नुभएको थियो।
त्यसैगरी, महानगरका पूर्वमेयर एवं नेकपा एमालेका नेता विद्यासुन्दर शाक्यले पनि सोही स्थानबाट मतदान गर्नुभयो। मतदानपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पूर्वमेयर शाक्यले लोकतन्त्रलाई बलियो बनाउन र आफ्नो भविष्यको फैसला गर्न सबै नागरिकलाई निर्धक्क भएर मतदान प्रक्रियामा सहभागी हुन अपिल गर्नुभयो।
एउटै मतदान केन्द्रमा महानगरका वर्तमान र पूर्व नेतृत्वका साथै उम्मेदवारको समेत उपस्थिति रहँदा सो क्षेत्रमा मतदाताहरूको उत्साहजनक सहभागिता देखिएको थियो।