भोजपुरबाट प्रतिनिधिसभा सदस्यमा श्रम संस्कृतिका ध्रुवराज राई निर्वाचित

भोजपुर, २४ फागुन । भोजपुरबाट प्रतिनिधिसभा सदस्यमा श्रम संस्कृति पार्टीका उम्मेदवार ध्रुवराज राई निर्वाचित भएका छन् । पूर्वमुख्यमन्त्रीसमेत रहेका नेकपा (एमाले) का उम्मेदवार शेरधन राईलाई १ हजार ९१३ मतान्तरले पराजित गर्दै ध्रुवराज विजयी भएका हुन् ।

जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार विजयी राईले १६ हजार ६६३ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेका शेरधन राईले १४ हजार ७५० मत पाएका छन् ।

यस्तै, चुनावी प्रतिस्पर्धामा तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण थापाले ८ हजार ६७० मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रमेश ओझाले ६ हजार ६०२ मत र नेपाल कम्युनिस्ट पार्टीका अजम्बर राई काङ्माङले ५ हजार ७२८ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

यसपटक भोजपुरमा प्रतिनिधिसभा सदस्यका लागि १२ वटा राजनीतिक दलका १२ जना उम्मेदवार चुनावी मैदानमा होमिएका थिए ।

जिल्लाभर रहेका कुल १ लाख २५ हजार ७६६ मतदातामध्ये यस निर्वाचनमा ५८ हजार १६७ जना (४६.१७ प्रतिशत) ले मात्र आफ्नो मताधिकार प्रयोग गरेका थिए । मतदानका लागि जिल्लाभर १६१ वटा मतदान केन्द्र तोकिएका थिए ।

नयाँ दलका रूपमा उदाएको श्रम संस्कृति पार्टीले चर्चित अनुहारलाई पराजित गर्दै भोजपुरमा निकालेको यो नतिजालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।