एमाले उपाध्यक्ष पौडेलको अपिल : ‘पार्टीको नीति, नेतृत्व र कार्यशैली बदलौँ’
काठमाडौँ, २५ फागुन । प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर २ बाट पराजित भएपछि नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले पार्टीको नीति, नेतृत्व र कार्यशैलीमा व्यापक रूपान्तरण गर्न अपिल गरेका छन्।
चुनावमा पराजय व्यहोरेलगत्तै बिहीबार एक विज्ञप्ति जारी गर्दै उनले जनअपेक्षाअनुरूप पार्टीलाई पुनःगठन गर्नुपर्नेमा जोड दिएका हुन्। विगतमा पार्टीका तर्फबाट भएका गल्ती र कमजोरीहरूको गम्भीर समीक्षा गर्न नेतृत्वलाई आग्रह गर्दै उनले समयको मागअनुसार आफैँलाई रूपान्तरण गर्नुपर्ने औँल्याएका छन्।
लोकतन्त्रको सुन्दरता नै जनताको अभिमत भएको बताउँदै नेता पौडेलले रुपन्देही–२ का मतदाताको फैसलालाई आफूले सविनय र सहर्ष स्वीकार गरेको उल्लेख गरेका छन्।
विज्ञप्तिमार्फत उनले यस क्षेत्रबाट विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामनासमेत दिएका छन्। नवनिर्वाचित सांसदले जनताको अपेक्षाअनुरूप उत्कृष्ट काम गर्ने र रुपन्देहीको विकास तथा समृद्धिको यात्रालाई अझ उचाइमा पुर्याउने विश्वास पौडेलले व्यक्त गरेका छन्।
“यस निर्वाचनमा मलाई विश्वास गरेर मतदान गर्नुहुने र आआफ्नो विश्वासका आधारमा घण्टी, रूख, तारा वा अन्य जुनसुकै चुनाव चिह्नमा मतदान गर्नुहुने सम्पूर्ण मतदाता महानुभावहरूप्रति म हार्दिक सम्मान व्यक्त गर्दछु,” पौडेलले विज्ञप्तिमा भनेका छन्।