मकवानपुरमा प्रहरी र लागुऔषध कारोबारीबीच झडप: असइमाथि बन्चरो प्रहार भएपछि प्रहरीले चलायाे गाेली

मकवानपुर, २८ फागुन । मकवानपुरको मनहरी गाउँपालिकामा लागुऔषध कारोबारीको आक्रमणबाट एक प्रहरी अधिकारी गम्भीर घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर एक जना आक्रमणकारी समेत घाइते भएका छन् ।

मनहरी–१ मकरीमा लागुऔषध सेवन गरी युवाहरूबीच विवाद भइरहेको सूचनाका आधारमा पदमपोखरी प्रहरी चौकीबाट खटिएको टोलीमाथि उनीहरूले साङ्घातिक आक्रमण गरेका हुन् । सोधपुछका क्रममा उनीहरूले प्रहरी सहायक निरीक्षक (असइ) दिलबहादुर तामाङमाथि बन्चरो, खुकुरी र बियरको बोतल प्रहार गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

आफ्नै टोलीमाथि आक्रमण भएपछि आत्मरक्षाका लागि प्रहरीले चलाएको गोली लागेर हेटौँडा–१२ हात्तीगौडाका १९ वर्षीय सनिस तितुङ घाइते भएका छन् । उनको पेटमा गोली लागेको छ । घाइते असइ तामाङ र तितुङ दुवैको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।

घटनालगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक (डिएसपी) पुष्कर बोगटीको कमाण्डमा थप टोली परिचालन गरिएको थियो । प्रहरीले घटनामा संलग्न हेटौँडा–१२ रमनटारका २४ वर्षीय सञ्जय जिम्बा र ३५ वर्षीय अजय थिङलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका व्यक्तिहरू र घाइते तितुङ विगतमा पनि लागुऔषध कारोबार, ज्यान मार्ने उद्योग र चोरी जस्ता गम्भीर अपराधमा संलग्न रहेको खुलेको छ । प्रहरीले यस घटनाबारे थप अनुसन्धान अगाडि बढाएको जनाएको छ ।