नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय बिजुली
बागलुङ, २९ फागुन । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन क्षेत्रमा पहिलोपटक केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेको छ । भौगोलिक विकटता र दुर्गम क्षेत्र भएका कारण लामो समयदेखि अँध्यारोमा रहेको ढोरपाटन उपत्यका अब राष्ट्रिय विद्युत् प्रणाली (ग्रीड) मा जोडिएको हो ।
नेपाल विद्युत् प्राधिकरण, बागलुङ वितरण केन्द्रले बुर्तिबाङ बजारबाट ३५ किलोमिटर लामो ११ केभी प्रसारण लाइन विस्तार गरी ढोरपाटन पुर्याएको हो । प्राधिकरणका बागलुङ प्रमुख दिलीप मरासिनीका अनुसार करिब १५ करोड रुपैयाँको लागतमा यो आयोजना सम्पन्न भएको हो । अघिल्लो वर्षदेखि सुरु भएको पोल गाड्ने र तार तान्ने काम सकिएपछि बिहीबारदेखि नियमित विद्युत् प्रसारण सुरु गरिएको छ ।
यसअघि ढोरपाटनका बासिन्दा ४० किलोवाटको गर्पाखोला र ६० किलोवाटको भुजीखोला लघुजलविद्युत् आयोजनामा निर्भर थिए । तर, ती आयोजनाबाट उत्पादित बिजुली अपर्याप्त र कम क्षमताको हुँदा स्थानीयले विद्युतीय उपकरण चलाउन पाएका थिएनन् । धेरैजसो बस्तीमा विद्युत् सेवा नपुग्दा नागरिकहरू टुकी र दियालोको भरमा रात कटाउन बाध्य थिए ।
केन्द्रीय लाइन पुगेसँगै ढोरपाटन नगरपालिका–९ का २५० भन्दा बढी घरधुरी प्रत्यक्ष लाभान्वित हुने वडा अध्यक्ष खिमबहादुर घर्तीमगरले जानकारी दिनुभयो । उहाँका अनुसार अब सलथान, बिजौलीखोला, छन्तुङ र खाल्डेखुल्डे जस्ता दुर्गम बस्तीका नागरिकले पनि उज्यालो पाउनेछन् ।
केन्द्रीय बिजुली पुगेपछि ढोरपाटनका होटल व्यवसायीहरू उत्साहित भएका छन् । अत्यधिक चिसो हुने यस क्षेत्रमा कम क्षमताको लघुजलविद्युत्का कारण हिटर र वासिङ मेसिन जस्ता उपकरण चलाउन सम्भव थिएन । होटल व्यवसायी सङ्घका अध्यक्ष जीवन पुनले भन्नुभयो, “केन्द्रीय बिजुली आएपछि अब हिटर, कपडा धुने मेसिन र अन्य ठूला उपकरण चलाउन सहज हुने भयो । यसले पर्यटकलाई दिइने सेवामा पनि गुणात्मक सुधार ल्याउनेछ ।”
विद्युत् प्राधिकरणले छेन्तुङसम्म लाइन विस्तार गरिसकेको छ । अब ढोरपाटन सिकार आरक्षको कार्यालय, नेपाली सेनाको ब्यारेक, विद्यालय र स्थानीयका घरघरमा विद्युत् जडानको काम तीव्र पारिनेछ । वर्षौँदेखिको उज्यालोको सपना पूरा भएपछि स्थानीय बासिन्दाले खुसी व्यक्त गरेका छन् ।