ग्यास वितरणमा निगमको कडाइ: १० बजेभित्र दैनिक विवरण बुझाउन उद्योगीहरूलाई निर्देशन
काठमाडौँ, ३० फागुन । खाना पकाउने एलपी ग्यासको आपूर्ति व्यवस्थालाई पारदर्शी र व्यवस्थित बनाउन नेपाल आयल निगमले देशभरका ग्यास उद्योगहरूलाई नयाँ निर्देशन जारी गरेको छ।
अब हरेक ग्यास उद्योगले आफ्ना विक्रेता (डिलर) लाई बिक्री गरेको ग्यासको पूर्ण विवरण दैनिक रूपमा बिहान १०:०० बजेभित्र अनिवार्य रूपमा सार्वजनिक गरी निगमलाई जानकारी गराउनुपर्नेछ।
निगमद्वारा जारी विज्ञप्तिअनुसार, उद्योगहरूले कुन विक्रेतालाई कति परिमाणमा ग्यास पठाएको हो, त्यसको विवरणका साथै विक्रेताको ठेगाना र सम्पर्क नम्बरसमेत स्पष्ट खुलाई तोकिएको समयभित्रै बुझाउनुपर्नेछ। मध्यपूर्वमा जारी तनावका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या देखिएपछि आन्तरिक बजारमा हुन सक्ने सम्भावित कालोबजारी र कृत्रिम अभाव रोक्न निगमले यो कदम चालेको हो।
नयाँ व्यवस्थाअनुसार ग्यास विक्रेताहरूले पनि उपभोक्तालाई बिक्री गरेको ग्यासको विस्तृत रेकर्ड राख्नुपर्नेछ। ग्यास खरिद गर्ने उपभोक्ताको नाम, सम्पर्क नम्बर र परिमाण स्पष्ट उल्लेख गरी सम्बन्धित उद्योगमार्फत दैनिक रूपमा निगमलाई रिपोर्टिङ गर्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ।
यसअघि नै निगमले ग्यासको सङ्कट टार्न र धेरैभन्दा धेरै उपभोक्तालाई समेट्न बजारमा आधा सिलिन्डर (७.१ केजी) मात्र वितरण गर्ने निर्णय गरिसकेको छ। आधा सिलिन्डर ग्यासको मूल्य ९ सय ५५ रुपैयाँ कायम गरिएको छ।
विहान १०:०० बजेभित्र सबै विवरण सार्वजनिक गर्नुपर्ने यो नियमले ग्यास वितरण प्रणालीमा पारदर्शिता ल्याउने र लक्षित उपभोक्ताले सहजै ग्यास प्राप्त गर्न सक्ने विश्वास निगमले लिएको छ। निर्देशन पालना नगर्ने वा विवरण लुकाउने उद्योग र विक्रेतामाथि कडा निगरानी र कानुनी कारबाही गरिने समेत निगमले चेतावनी दिएको छ।