नवलपरासी (पूर्व) मा जापनिज इन्सेफ्लाइटिसको जोखिम बढ्दो: ३५ वर्षमाथिका नागरिकलाई खोप अभियान सुरु

काठमाडौँ, चैत ३ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापनिज इन्सेफ्लाइटिस सङ्क्रमणको दर बर्सेनि बढ्दै गएपछि स्वास्थ्य कार्यालयले विशेष खोप अभियान सञ्चालन गरेको छ । जिल्लाभर यही चैत १ गतेदेखि सुरु भएको यस अभियानअन्तर्गत ३५ वर्षमाथिका करिब एक लाख ५० हजार नागरिकलाई खोप लगाउने लक्ष्य राखिएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (पूर्व) का प्रमुख केशव चापागाईँका अनुसार चालु आर्थिक वर्षमा मात्र जिल्लामा १५ जनामा जापनिज इन्सेफ्लाइटिस पुष्टि भएको छ, जसमध्ये ६ जनाको ज्यान गइसकेको छ। सङ्क्रमण र मृत्युदरमा उल्लेख्य वृद्धि देखिएपछि यस जिल्लालाई केन्द्रित गरी खोप कार्यक्रम अघि बढाइएको हो ।

तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७९/८० मा सात जना सङ्क्रमितमध्ये पाँच जनाको मृत्यु भएको थियो भने आव २०८०/८१ मा आठ जनामा सङ्क्रमण देखिँदा एक जनाको मृत्यु भएको थियो ।

जिल्लाका आठवटै स्थानीय तहमा खोप कार्यक्रम सञ्चालन भइरहेको जनस्वास्थ्य अधिकृत प्रविणकुमार खनालले जानकारी दिनुभयो। रोगको जोखिम न्यूनीकरणका लागि लक्षित समूहलाई खोप केन्द्रसम्म पुगी सेवा लिन कार्यालयले आग्रह गरेको छ ।

जापनिज इन्सेफ्लाइटिस ‘क्युलेक्स’ नामक मध्यम आकारको खैरो लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ। यो लामखुट्टे विशेषगरी घाम ढल्केपछि र रातको समयमा सक्रिय हुने गर्दछ । धानबालीमा जमेको पानी यस लामखुट्टेको मुख्य बासस्थान हुने भएकाले साउन, भदौ र असोज महिनामा यसको सङ्क्रमण दर उच्च रहने चिकित्सकहरूको भनाइ छ ।

विश्वभर प्रत्येक वर्ष करिब ५० हजार व्यक्ति यस रोगबाट सङ्क्रमित हुने गरेका छन्, जसमध्ये १० देखि १५ हजार जनाको मृत्यु हुने गरेको तथ्याङ्कले देखाउँछ । नवलपरासी (पूर्व) मा देखिएको उच्च जोखिमलाई ध्यानमा राख्दै सञ्चालित यो खोप अभियानलाई स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण कदमका रूपमा लिइएको छ ।