राजमार्ग विस्तारमा प्राधिकरणको बेवास्ता : सडकबीचमै बिजुलीका पोल, धराप बन्दै पृथ्वी राजमार्ग

मलेखु, ३ चैत । नागढुङ्गा–मुग्लिन सडक आयोजनाअन्तर्गत पृथ्वी राजमार्ग विस्तारको काममा बिजुलीका पोलहरू मुख्य बाधक बनेका छन्। नेपाल विद्युत् प्राधिकरणले सडकको दायाँबायाँ रहेका पोल सार्न ढिलासुस्ती गर्दा आयोजनाको काम प्रभावित मात्र भएको छैन, सडकमा दुर्घटनाको जोखिमसमेत उच्च बनेको छ।

विशेषगरी आयोजनाको पूर्वी खण्डमा पर्ने नौबिसेदेखि धार्के बजार, गल्छी गाउँपालिकाको बन्छेटार, जरेखेत, बेल्खु तथा गजुरी गाउँपालिकाको घाटबेँसी, पोखरेखोला हुँदै गजुरी बजार आसपासमा पोल नसार्दा सडक विस्तारको कामले गति लिन सकेको छैन।

आयोजनाको पूर्वी खण्डका इन्जिनियर केशवराज ओझाका अनुसार विद्युत् प्राधिकरणले समयमै पोल नसारिदिँदा कतिपय स्थानमा निर्माणको काम नै रोक्नुपर्ने अवस्था आएको छ। पोल नसार्दा सडक आयोजनाले कतै पोललाई बीचमै छाडेर दायाँबायाँ कालोपत्र गरेको छ भने कतै ग्राभेल मात्र बिछ्याएर काम अधुरो छाडेको छ। कतिपय ठाउँमा पोल गाडिएको भागलाई छाडेर चारैतिर खन्दा पोलहरू धरापजस्तै बनेका छन्, जसले गर्दा रातको समयमा सवारी दुर्घटनाको ठूलो जोखिम निम्त्याएको छ।

सडक विस्तारका क्रममा सार्नुपर्ने पोलको सम्पूर्ण खर्च सडक आयोजनाले व्यहोर्ने गरी सडक विभागको विकास सहायता कार्यान्वयन महाशाखा र नेपाल विद्युत् प्राधिकरण बागमती प्रादेशिक कार्यालयबीच सम्झौता भएको थियो। तर, प्राधिकरणले पोल सार्ने जिम्मा दिएको ठेकेदार कम्पनीले काममा चरम ढिलासुस्ती गर्दा सम्झौताको कार्यान्वयन फितलो देखिएको छ।

“पूर्वी खण्डमा सार्नुपर्ने करिब ५ सय पोलमध्ये अब करिब सयवटा मात्र सार्न बाँकी छ,” इन्जिनियर ओझाले भन्नुभयो, “तर, तिनै बाँकी पोलहरू मुख्य सहरी खण्ड र संवेदनशील ठाउँमा पर्ने भएकाले आयोजनाको मुख्य काम नै प्रभावित भएको छ।”

यता, नेपाल विद्युत् प्राधिकरण बागमती प्रदेश प्रादेशिक कार्यालयका इन्जिनियर शेरबहादुर सुनारले भने पोल सार्ने काममा ढिलाइ नभएको दाबी गर्नुभएको छ। “काम भइरहेकै छ, केही व्यावहारिक कठिनाइले गर्दा ढिला जस्तो देखिएको हो,” उहाँले भन्नुभयो, “ठेकेदारसँग बुझेर मात्र यस विषयमा थप कुरा भन्न सकिन्छ।”

सरकारी निकायहरूबीचको समन्वय अभाव र ठेकेदारको लापरवाहीका कारण राष्ट्रिय गौरवको आयोजनाको काममा ढिलाइ हुनुका साथै व्यस्त राजमार्गजस्तो संवेदनशील क्षेत्रमा यात्रुहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।