नारायणगढ–मुग्लिन सडकका ४३ स्थान पहिरोको जोखिममा, रोकथामका लागि ४५ करोड खर्चिइँदै

चितवन, ४ चैत । राजधानी काठमाडौँको ‘लाइफ लाइन’ मानिने नारायणगढ–मुग्लिन सडकखण्डका ४३ स्थान पहिरोको जोखिममा रहेको पाइएको छ । सडक डिभिजन कार्यालय भरतपुरले गरेको पछिल्लो प्राविधिक अध्ययनअनुसार सो सडकका विभिन्न खण्डमा पहिरोको फरक–फरक प्रकृतिको जोखिम देखिएको हो ।

अध्ययन प्रतिवेदनअनुसार ८ स्थान ‘उच्च जोखिम’, २२ स्थान ‘जोखिम’ र १३ स्थान ‘सामान्य जोखिम’ को सूचीमा रहेका छन् । कार्यालयका अनुसार उच्च जोखिमयुक्त क्षेत्रमध्ये पनि तुइन खोला क्षेत्रलाई ‘अति उच्च जोखिम’ को श्रेणीमा राखिएको छ ।

इन्जिनियर अर्जुन घिमिरेका अनुसार तुइन खोला, काली खोला र नाम्सी खोला क्षेत्रमा पहिरोको उच्च जोखिम छ । यस्तै, तुइन र चिसेन्जीको बीचको भागमा ढुङ्गा झर्ने (Rock Fall) समस्या छ भने चार किलोको दुई स्थान, मौरी खोला र सेती दोभानमा लेदोसहितको पहिरो खस्ने सम्भावना छ । यसबाहेक १६ किलो, १७ किलो, डुम्रे खोला र सिमलताललगायतका क्षेत्रलाई पनि जोखिमयुक्त पहिचान गरिएको छ ।

वर्षायाम सुरु हुनुअघि नै पहिरो नियन्त्रणका लागि सडक डिभिजन कार्यालयले प्रक्रिया अगाडि बढाएको छ । कार्यालयका प्रमुख नारायण लामिछानेका अनुसार तुइन, काली र नाम्सी खोलामा पहिरो रोकथाम गर्न रु २५ करोड विनियोजन गरिएको छ । यसका लागि खरिद गुरुयोजना स्वीकृतिका लागि गत माघ २३ गते नै सडक विभागमा पठाइसकिएको र डिजाइन कार्य अन्तिम चरणमा पुगेको छ ।

अन्य जोखिमयुक्त स्थानमा पहिरो न्यूनीकरणका लागि थप रु २० करोड बजेट विनियोजन गरिएको लामिछानेले जानकारी दिनुभयो । “नक्साङ्कनको काम पूरा भइसकेको छ, अबको केही दिनमा बोलपत्र (टेन्डर) आह्वान गरी बर्सातअघि नै जोखिम न्यूनीकरणका काम सम्पन्न गर्ने हाम्रो लक्ष्य छ,” उहाँले भन्नुभयो ।

केही वर्षअघि सडक विस्तारका क्रममा भित्तो काटिएका स्थानहरूमा बर्सातको समयमा लेदोसहितको पहिरो खस्दा सडक अवरुद्ध हुने र दुर्घटनाको जोखिम बढ्ने गरेको छ । दैनिक १० हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्ने यस व्यस्त सडकलाई सुरक्षित बनाउन विभागले उच्च प्राथमिकता दिएको जनाएको छ ।