कांग्रेस सभापति गगन थापाद्वारा राजीनामा
काठमाडौँ, ५ चैत । नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीले व्यहोरेको लज्जास्पद हारको नैतिक जिम्मेवारी लिँदै उहाँले बुधबार उपसभापति विश्वप्रकाश शर्मासमक्ष राजीनामा बुझाउनुभएको हो ।
सभापति थापाले राजीनामा दिएको विषय पार्टीका एक पदाधिकारीले पुष्टि गरेका छन् । “सभापतिज्यूले राजीनामा पत्र उपसभापतिज्यूलाई बुझाउनुभएको छ । यस विषयमा छलफल गर्न भोलि (शुक्रबार) केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरिएको छ,” ती पदाधिकारीले बताए ।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सभापति थापा आफैँ सर्लाही क्षेत्र नं ४ बाट पराजित हुनुभएको थियो । उहाँ मात्र नभई चुनावी मैदानमा उत्रिएका पार्टीका सबै पदाधिकारीहरू समेत पराजित भएपछि नेतृत्वमाथि प्रश्न उठ्दै आएको थियो । पार्टीभित्रैबाट सभापतिको राजीनामा माग गर्दै तीव्र दबाब सिर्जना भएपछि थापाले पद त्याग्ने निर्णय लिनुभएको हो ।
विशेष महाधिवेशनमार्फत नेतृत्व सम्हालेको छोटो समयमै कांग्रेस निर्वाचनमा होमिएको थियो । तर, निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले उक्त विशेष महाधिवेशनलाई मान्यता नदिई बहिष्कार गरेको थियो । देउवा पक्षले विशेष महाधिवेशनको वैधानिकतालाई लिएर सर्वोच्च अदालतमा दायर गरेको मुद्दा हालसम्म विचाराधीन अवस्थामै छ ।
चुनावी समीक्षा र सभापतिको राजीनामाका सम्बन्धमा निर्णय लिन कांग्रेसले शुक्रबार दिउँसो १ बजेका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । सो बैठकले थापाको राजीनामा स्वीकृत गर्ने वा नगर्ने भन्नेबारे अन्तिम निर्णय लिनेछ । सभापति थापाले राजीनामा दिएसँगै मुलुकको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी कांग्रेसभित्र नयाँ नेतृत्वको बहस र सङ्घर्ष सुरु हुने देखिएको छ ।